प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ



अमृत अर्याल, स्याङ्जा।

विभिन्न उद्देश्य राखेर शैक्षिक विकासका लागि महायज्ञ गर्ने प्रचलन पछिल्लो समय बढ्दो छ। महायज्ञबाट आर्जित रकमलाई शैक्षिक गुणस्तरसँगै भौतिक विकासमा खर्च गर्न विद्यालयहरूले यस्ता क्रियाकलापलाई जोड दिन थालेका छन्।

सरकारी तवरबाट खासै चासो नभएको थाहा पाएपछि स्थानीयहरू महायज्ञ सञ्चालन गरेर शैक्षिक विकासमा लाग्न थालेका छन्।

यस्तै प्रचलनलाई पछ्याउँदै भीरकोट नगरपालिका ५ स्वरेक सिम्ले स्थित जनप्रिय माध्यमिक विद्यालयले शैक्षिक स्तरोन्नति तथा प्राविधिक शिक्षालय स्थापनाका लागि ७ दिने विराट महायज्ञको आयोजना गरेको छ।

यो महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञ २०७६ का निर्देशक तथा वडा अध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो।

प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर राखेर यो महायज्ञ सञ्चालन गरेका छौं निर्देशक अधिकारीले भन्नुभयो– ‘यो महायज्ञबाट उठेको रकमले गाउँमै प्राविधिक शिक्षालय स्थापना गर्नेछौं।

जसले गर्दा बाहिर गएर पढ्नुपर्ने बाध्यतालाई केही हदसम्म कम हुने विश्वास गरिएको अधिकारीले बताउनुभयो।

सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा मात्रै गर्ने तर काम नहुने हुँदा यहाँका विद्यार्थी प्राविधिक शिक्षाका लागि ठूलो रकम खर्च गरेर बाहिर पढ्न जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर महायज्ञ गर्नुपरेको अधिकारीको भनाइ छ।

महायज्ञबाट ५० लाख बचत गर्ने लक्ष्य आयोजकको छ। स्थानीय समाजसेवीहरूको पहलमा २०१८ सालमा स्थापना गरिएको विद्यालयमा २०६५ सालबाट मावि कक्षा सञ्चालन हुँदै आएको छ। स्थापनाको लामो समय बितिसक्दा पनि विद्यालयले भनेजस्तो सफलता पाउन सकेन ।

महायज्ञ मूल आयोजक समितिका संयोजक चोलाकान्त पौडेलले भन्नुभयो– ‘अब केही न केही गर्नुपर्छ भन्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।’

विद्यालयको आर्थिक पक्षलाई मजबुतीकरण बनाउँदै प्राविधिक शिक्षालय सञ्चालन गर्ने अठोट रहेको पौडेलले बताउनुभयो। महायज्ञमा पण्डित देवनयन नारायण लामिछाने प्रमुख वाचक रहनुभएको छ।

महायज्ञको भीरकोट नगरप्रमुख छाँयाराम खनालले उद्घाटन गर्नुभएको छ। महायज्ञबाट विद्यालयले लिएको लक्ष्यप्राप्तिमा सफलता मिल्नेमा खनालले विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाबाट पनि प्राविधिक शिक्षाका लागि सहयोग हुने नगरप्रमुख खनालले आयोजकलाई विश्वास दिलाउनुभयो।स्याङ्जामा विद्यालयको शैक्षिक विकास भन्दै अहिलेसम्म महायज्ञ गरिए पनि उद्देश्यअनुसारको काम भने गरेको देखिएको छैन।

तर यो विद्यालयले उद्देश्यअनुसारको काम गर्नेमा स्थानीयले विश्वास गरेका छन्।महायज्ञ उद्घाटन गर्नु अगाडि विभिन्न आमा समूह, युवा क्लब, बुद्धिजीवी, विद्यार्थीलगायतले ¥याली निकालेका थिए।

जिल्लाकै प्रसिद्ध धार्मिकस्थल छायाक्षेत्र मन्दिरबाट जल लगेर महायज्ञ उद्घाटन गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्