धुलिखेलका मेयरसँग विद्यार्थीको चासो: नमुना विद्यालय बनाउन के गर्नु हुन्छ ?



मोतीराम तिमल्सिना,काभ्रेपलाञ्चोक। 

जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिने धुलिखेल नगरपालिकामा रहेको सञ्जिवनी नमुना मावीमा विद्यार्थी र स्थानीय सरकार बीच संवाद भईरहेको थियो । विद्यार्थी साधना चौलागाईले जुरुक्क उठेर प्रश्न गर्नु भयो–‘मेयर ज्यू, तपाई यहि विद्यालयबाट अध्ययन गर्नु भएको सुनें, अहिले सरकार प्रमुख हुनुुुहुन्छ, विद्यालयका तमाम समस्या प्रति जानकार हुनुहुन्छ होला, यो विद्यालयलाई नमुना बनाउन के गर्नु हुन्छ ?’

प्रश्नको क्रम निरन्तर चलिरह्यो । विद्यार्थी श्रीराम न्यौपानेले परीक्षा गुणस्तर बनाउन नगरपालिकाको योजनाका बारेमा नगर प्रमुख सँग जिज्ञासा राख्नु भयो । स्थानीय सरकारले आफै प्रश्नपत्र बनाउन थालेपछि प्रश्नपत्रमा भएका त्रुटीले गुणस्तरमा हस आउन सक्ने तर्फ विद्यार्थी श्रीराम न्यौपानेले सरकार प्रमुख समक्ष गुनासो गर्नु भएको थियो ।

विद्यार्थी आशिष बजगाईले नगर प्रमुख आफैले अध्ययन गरेको सञ्जिवनीका लागि के योगदान दिन सक्नु हुन्छ ? प्रश्न राख्नु भएको थियो । विद्यार्थी इमरान शाहले खेलकुदको विकासमा ध्यान दिन अनुरोध गर्नु भएको थियो । नारायणी न्यौपानेले कन्फे्रस हलको आवश्यकता रहेको बताउनु भयो । कृपा राउतले यातायातको ब्यवस्थापनका लागि अनुरोध गर्नु भयो ।

रिया फुँयालले सामुदायिक विद्यालयको बजेटका बारेमा जिज्ञासा राख्नु भयो । प्रशंशा श्रेष्ठले बालमैत्री विद्यालयका लागि नगरपालिकाको योजनाका बारेमा प्रश्न राख्नु भएको थियो । विद्यार्थी आयुष श्रेष्ठले पर्यटन वर्षको तयारीका बारेमा नगर प्रमुखसँग प्रश्न राख्नु भयो । सायरा तिमल्सिना, एलिसा हुमागाईले गुणस्तरीय शिक्षाका बारेमा जिज्ञासा राख्नु भयो ।

मुस्कान प्रविनले म्युजिक कक्षा संचालनका लागि नगरपालिकाको योजनाका बारेमा सुझाव दिनु भयो । धुलिखेल संजीवनी नमुना माबिमा मेयर सँंग बिद्यार्थी कार्यक्रममा बोल्दै विद्यार्थीहरुले उक्त जिज्ञासा नगर प्रमुख अशोक ब्याञ्जु समक्ष प्रस्तुत गरेका थिए । बिद्यार्र्थीहरुका जिज्ञासा तथा प्रश्नहरुमा नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले जवाफ दिनु भएको थियो ।

नगर प्रमुख अशोक ब्याञ्जुले शिक्षक, अभिभावक, विज्ञहरुसँग मात्रै छलफल गरेर बनाईने शिक्षा नीतिमा विद्यार्थीहरुका कुरा समेत समावेश गरी दिर्घकालिन रुपमा शिक्षामा लगानी बृद्धी गरी र शिक्षाको गुणस्तर बढाउन विद्यार्थीहरुको चासो र जिज्ञासा सम्बोधन गर्न मेयर सँग विद्यार्थी कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

विद्यार्थीहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शैक्षिक गुणस्तर सहितको नगर बनाउन कहिल्यै विद्यार्थीहरुको आवाज नसुनी तयार गरिने शैक्षिक कार्यक्रमलाई बदल्न विद्यार्थीहरुसँग प्रश्नोत्तर कार्यक्रम राखिएकाले विद्यार्थीहरुले दिनु भएको सुझाव, सल्लाह र जिज्ञासालाई शैक्षिक क्यालेण्डर र योजना भित्र समावेश गरी अगाडी बढ्ने बताउनु भयो ।

परिक्षा प्रणाली सुधार गरी गुणस्तर कायम राख्ने, नमुना विद्यालयका मापदण्डहरुलाई पुरा गर्न भौतिक र शैक्षिक सुधारका कार्यहरु निरन्तर गर्ने, शैक्षिक सामाग्री अभाव हुन नदिने, खेल मैदानको ब्यवस्थापन गर्ने, यातायातको सुविधालाई ध्यान दिने, नेपाल सरकारले विनियोजन गरेको १७ करोड बजेटमा स्थानीय सरकारले झण्डै १ करोड ३० लाख थप गरी गुणस्तरीय शिक्षालाई जोड दिएको, महिनाको एक पटक प्रअहरुको बैठक संचालन गरी गुणस्तर कायम राख्न प्रयास गरेको, अंग्रेजी, गणित र सामाजिक विषयका शिक्षकहरुको नियमित बैठक संचालन गरिरहेको, दातृ निकायसँगको पहलमा विद्यालयहरुको भौतिक पुर्वाधार निर्माण गरिरहेको, काठमाडौ विश्वविद्यालयसँगको सहकार्यमा विभिन्न विषयमा नगर भित्रका बार्षिक २२ जना विद्यार्थीहरुलाई अध्ययनको अवसर मिलाईएको, स्कुल र विश्वविद्यालय जोड्ने वातावरण तयार गरेको, बालमैत्री शहर निर्माणका लागि वडालाई बालमैत्री घोषणा गरी २०२० भित्र सबै वडा र नगरलाई पुर्ण रुपमा बालमैत्री नगर घोषणा गर्ने गरी कार्य गरिरहेको, पर्यटन वर्षलाई मात्रै लक्षित नगरी सिङ्गो नगरलाई पर्यटकिय शहरका रुपमा विकास गर्न पार्क लगायतका संरचनाहरु निर्माण गरिएको, संगित कक्षाका लागि विशेष ब्यवस्थापनका लागि योजना बनाईएको जानकारी गराउनु भएको थियो ।

नगर प्रमुखसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर उपलब्ध गराएकोमा विद्यार्थीहरुले धन्यवाद दिएका थिए । कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख उप सचिव माधव शर्माले स्थानीय सरकारले अधिकार प्राप्त गरे सँगै शिक्षामा लगानी बृद्धी सँगै गुणस्तर र ब्यवस्थापनमा ध्यान दिएको बताउनु भयो । नगरपालिकाले शैक्षिक गतिविधि सञ्चालन, विद्यार्थीको पहुँच बृद्धी, गुणस्तरीय शिक्षाका लागि पहल, सिर्जनशिलताको विकास जसले गर्दा विद्यार्थीहरुलाई प्रश्न सोध्न सक्ने क्षमताको बृद्धी, स्थानीय सरकारसँग विद्यार्थीको पहुँच, विद्यार्थीहरुको नीति निर्माणमा सहभागिता रहने बताउनु भयो ।

चालु आर्थिक वर्षमा नगर भित्र रहेका ११ वटा माध्यमिक विद्यालयमा उक्त कार्यक्रम संचालन गरिनेछ । विद्यार्थीहरुको जिज्ञासा, समस्या सिधै प्रमुख समक्ष पु¥याउन र तत्काल र दिर्घकालीन रुपमा समाधान गर्न नीति निर्माणमा सहयोग पुग्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको शिक्षा समितिका प्रुमख वडा अध्यक्ष विष्णु धितालले बताउनु भयो । बालबालिकाहरुको सामाजिक विषय अध्ययनका लागि उक्त कार्यक्रमले सहयोग पुग्ने धितालले बताउनु भयो ।

नगरपालिकाले गरिव, जेहेन्दार, सिमान्तकृत समुदायका बालबालिकाहरुका लागि छात्रबृत्ति प्रदान गरेको छ भने साझेदारीमा सहज पहुँचका लागि प्राविधिक शिक्षामा कोटा ब्यवस्थापन गरेको छ । बहुकक्षा, बहु स्तर प्रणाली लागु भएको छ । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको बस्तु स्थितीका बारेमा जानकारी गराउँदै बालबालिकाहरुको क्षमता अभिबृद्धीका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भएको थियो ।

विद्यालयमा पुर्व प्राथमिक तह देखि १२ कक्षा सम्म ८ सय ९२ विद्यार्थी अध्ययनरत छन् । सुरक्षित भवन र कक्षा कोठा भए पनि जनशक्ति अभावका कारण १ सय ६० जना विद्यार्थीहरुलाई भर्ना गर्न नसकिएको प्रधानाध्यापक ढकालले बताउनु भयो । सिभिल इन्जिनियरिङ्ग, विज्ञान, शिक्षा लगायतका संकायहरुमा अध्यापन हुने विद्यालयमा बनेपा क्षेत्रबाट मात्रै २ सय भन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सदरमुकाम धुलिखेलमा २ घण्टा पैदल पछि मात्रै विद्यालय आउनु पर्ने समस्या भएको भन्दै प्रधानाध्यापकले यातायातको ब्यवस्थापन गर्न अनुरोध गर्नु भएको थियो । अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन हुने विद्यालयमा शैक्षिक गुणस्तरका लागि कुनै कसुर बाँकी नराख्ने प्रअ ढकालले बताउनु भयो ।

खेलकुद मैदान, तालिम हल, जनशक्तिको ब्यवस्थापन, यातायातको साधन लगायतका समस्या हल गर्न नसके राष्ट्रकै नमुना विद्यालय बनाउन सकिने उहाँले बताउनु भयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख माधव शर्मा, वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, विष्णु धिताल, प्रधानाध्यापक लोकेन्द्र ढकाल लगायतले कार्यक्रमको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्