नातिनीको हत्यापछि भुजेल परिवार बिलखबन्दमा



कृष्णउदास खनाल, हेटौंडा।

२०७६ साल माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा बिहानै एउटा शव फेला परेको हल्ला बजारभरि फैलियो।

त्यो शव फेला परेको खबर हेटौंडा ११ बस्ने भक्तबहादुर भुजेल र कृष्णमायाँ भुजेलले पनि सुनिन् तर त्यो सत्य नहोस् भन्ने उनीहरूको चाहना थियो तर त्यो शव कसैको नभई आफ्नै पहिला नाति तर पछि नातिनी बनेकी अजिता भुजेलको थियो।

तेस्रो लिंगी अजिता भुजेलको हत्या गरिएको अवस्थामा माघ ४ गते शव फेला परेपछि परिवारका एक मात्र सहारा डुबेपछि अहिले अजिता भुजेलका हजुरबुवा भक्तबहादुर नातिनीको काजक्रियामा रहनु भएको छ।

पहिला अजय नाउँ थियो,पछि उनी आफैले नाउँ परिवर्तन गरी अजिता राखेका थिए।आफूलाई महिला बताउन चाहने अजिता अन्ततः परिवारसँग संघर्ष गरेर घरै छाडेर पनि हिँडेका थिए।

घर छाडेपछि उनी घरमा बेलाबेलामा आउथे र डाँडामाथिको जून भएका आफ्ना हजुरबुवा र आमालाई केही सहयोग गर्दथे।अजिताको बुवा अर्जुनको निधन भएसकेका कारण हजुरबुवा काजक्रियामा बस्नु भएको हो।

भक्त बहादुरको जेठा छोरा अर्र्जुन केही बर्ष अगाडि भारतमा बितेका थिए र उनैको सन्तान थिए,अजय। आफ्नो नातिनीको हत्यापछि आफूहरूको सबै खुसी खोसिएको हजुरआमा कृष्णाकुमारी भुजेलले गुनासो गर्नुभयो।

अपराधी पक्राउ परे आफूहरूलाई न्याय हुने उहाँको तर्क छ। नातिनी सम्झँदै भक्कानिदै कृष्णाले आफूहरूको सहारा खोसिएको बताउनुभयो ।

मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले अजिता हत्या प्रकरणलाई प्रहरीले गम्भीरतापूर्वक लिएको र एक दुई दिनमा नै अपराधी पक्राउ पर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्