रन्जितको गोलमा मछिन्द्रको जित



नेपाल समाचारपत्र, काठमाडौं।

रन्जित धिमालको निर्णायक गोलमा मछिन्द्र क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत् बुधबार जित हात पारेको छ।
दशरथ रंगशालामा भएको आठौं चरणको पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो।

रन्जितले ५३औं मिनेटमा फ्रिकिक प्रहारलाई गोलमा परिणत गरेर टोलीलाई १–० ले अग्रतामा राखेका थिए। उनले दायाँ विंगबाट हानेको प्रहारलाई पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाउन प्रयास गरेका थिए। तर उनी गोल हुनबाट बचाउन असफल भएका थिए।

बाँकी समय दुबै पक्षबाट गोल नभएपछि मछिन्द्रले स्पष्ट ३ अंक जोडेको छ। योसँगै मछिन्द्रले ८ खेलबाट आर्मी सरह १६ अंक जोड्दै उपाधि जित्ने आसलाई जीवित राखेको छ। अंकतालिकामा एक खेल कम खेलेको आर्मी शीर्ष स्थानमा कायमै छ।

आर्मीले आगामी शनिबार हुने खेलमा एनआरटीसँग खेल्नेछ।हारपछि पुलिस ११ अंकसहित छैटो स्थानमा रहेको छ। आगामी खेलमा संकटा, जावलाखेलले जित हासिल गरेमा पुलिस अझै तल स्थानमा झर्ने संभावना छ।

संकटा र जावलाखेलको ९÷९ अंक रहेको छ। जावलाखेलले आज एपीएफसँग खेल्दै छ भने शनिबार संकटाले फ्रेन्डस्सँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्