कुशेले लगायो विषादीमाथि प्रतिबन्ध



बासुदेव शर्मा, जाजरकोट।

कुशे गाउँपालिकाले रासायनिक मल तथा विषादी औषधि आयातमा प्रतिबन्ध लगाएको छ। कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिकाका रुपमा विकास गर्न रासायनिक मल तथा विषादी औषधिमा प्रतिबन्ध लगाएको हो।

कर्णाली प्रदेश सरकारभित्र रहेका १० जिल्लाका एक–एक वटा गाउँपालिकालाई अर्गानिक गाउँपालिका निर्माण गर्ने अभियान सञ्चालन गरेसँगै जाजरकोटको कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिको रुपमा लिएको हो।

अर्गानिक गाउँपालिकाको रुपमा विकास गर्न गत वर्षदेखि अर्गानिक कृषिसम्बन्धि कार्यक्रम सञ्चालन गरेको थियो।

कर्णाली प्रदेश सरकारले लिएको अभियानलाई सार्थकता दिन कुशे गाउँपालिकाले गत पुस २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिकामा रासायानिक मल तथा विषादी औषधि आयात गर्न प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो।

कुशे गाउँपालिकाभित्र कोहीकसैले रासायनिक मल तथा विषादी भित्रिन नदिनका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको छ। गाउँपालिका क्षेत्रभित्रका सबै नाकामा चेक जाँच कार्य शुरु भइसकेको गाउँपालिका कृषि विकास शाखाका धिरेन्द्र बस्नेतले जानकारी दिनुभयो।

रासायनिक विषादी आफैंले बाडँदै आइरहेको कृषि विकास शाखाले कुशे गाउँपालिकालाई कर्णाली प्रदेश सरकारले अर्गानिक गाउँपालिका घोषणा गरेपछि कुनै पनि रासायनिक मल तथा विषादी सम्बन्धि कार्यक्रम सञ्चालन नभएको कृषि विकास शाखाले जनाएको छ।

कुशे गाउँपालिका ९ मा रहेको रासायनिक विषादी नष्ट गरेको कृषि विकास शाखाका नाप्रास बस्नेतले बताउनुभयो।

रासायनिक मल तथा विषादी प्रयोगको सट्टा किसानलाई जैविक विषादी निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिने भएको छ। जैविक विषादीले माटो खेतीपातीलाई हुने फाइदाका विषयमा जानकारी गराउने भएको छ।

जैविक विषादी निर्माण तथा प्रयोग सम्वन्धि किसानलाई तालिम, जैविक विषादी वितरण गर्ने कार्यक्रम रहेको कृषि प्राविधिक बस्नेतले बताउनुभयो।

गाउँपालिकामा रासायनिक मल, विषादी औषधि धेरै मात्रमा प्रयोग नभएकाले आगामी दिनमा रासायनिक मल, विषादी औषधि प्रयोग हुनबाट रोकियो भने कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिकाको रुपमा विकास गर्न सकिने बताइएको छ।

आगामी वर्ष कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले कृषक तथा सरोकारवालालाई सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्