बिहादीमा औद्योगिक ग्राम स्थापनाको तयारी



नेपाल समाचारपत्र, पर्वत।

पर्वतको बिहादी गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ।गण्डकी प्रदेश सरकार र बिहादी गाउँपालिकाको सहकार्यमा बिहादी गाउँपालिका २ बर्राचौरमा औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो।

गाउँ कार्यपालिकाको बैठकबाट औद्योगिक ग्राम सञ्चालनका लागि बर्राचौर स्थित तिलाहारचौरमा जग्गा छनोट गरिसकिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो।

औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ९२ लाख रकम विनियोजन गरी बिहादी गाउँपालिकासँग सम्झौता समेत गरेको छ। गण्डकी प्रदेश सरकारले ६० लाख तथा बाँकी गाउँ पालिकाको लगानीमा औद्योगिक ग्राम स्थापना हुने अध्यक्ष भुसालले बताउनुभयो।

‘औद्योगिक ग्राम सञ्चालन गर्न पहिलो चरणमा एक सय रोपनीको जग्गा छनोट गरिसकेका छौ’ उहाँले भन्नुभयो–‘आवश्यक परेको खण्डमा बाँकी जग्गा पनि औद्योगिक ग्राम सञ्चालनका लागि छुट्टायाउछौँ।’

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय मन्त्रीपरिषद्मा उद्योग ग्राम स्थापनाका लागि स्वीकृति मागेको थियो। मन्त्रिपरिषद्ले गण्डकी प्रदेशमा बिहादी गाउँपालिका सहित ११ वटा औद्योगिक ग्राम र २ वटा औद्योगिक क्षेत्रको स्थापना गर्न स्वीकृत गरेसँगै औद्योगिक ग्राम स्थापना गर्न बाटो खुलेको हो।

औद्योगिक ग्राममा विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ।

स्थानीय स्तरमा प्राप्त हुने कोदो,मकै,धान,गहुँ,फापर,दुध ,मह ,चिया कफी ,फलफूल जडीबुटी लगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमलक उद्योग निर्माण गर्ने उद्देश्य छ।

प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उधोग तथा काठ बेतबाँसजन्य फर्निचर उद्योग सञ्चालन गर्न सकिने छ भने सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माण सँग सम्बन्धित उद्योग ,बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिन्छ। उद्योग ग्राम स्थापना भएपछि रोजगारी समेत सिर्जना हुनेछ।

प्रतिक्रिया दिनुहोस्