उखु किसानको पैसा नतिर्ने उद्योगको बैंक खाता रोक्का



नेपाल समाचारपत्र, काठमाडौं।

उखु किसानको पैसा नतिर्ने उद्योगको बैंक खाता रोक्का गरिएको छ। सरकारले उखु किसानहरूको बक्यौता नतिर्ने अन्नपूर्ण सुगर र इन्दिरा सुगर एन्ड एग्रोको बैंक खाता रोक्का गरेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैसा तिर्न पटक/पटक ताकेता गर्दा पनि नदिएपछि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। बैंक खाता रोक्का गर्न मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो।

मन्त्रालयका अनुसार पाँच वटा उद्योगले किसानको सबै रकम भुक्तानी गरिसकेका छन्।हिमालयन सुगर मिल्स् प्राली, इन्दुशंकर चिनी उद्योग प्रालि, इस्टर्न सुगर मिल्स, रिलायन्स सुगर एन्ड केइ प्राली र भागेश्वर सुगर प्रालिले किसानको बक्यौंता दिइसकेका छन्।

अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौंतामा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ। यसैगरी एभरेस्ट सुगर मिलले बैंक खाता नभएका किसानबाहेक सबैको भुक्तानी दिएको मन्त्रालयले जनाएको छ।

यस्तै बाबा बैजुनाथ चिनी उद्योग र बागमती खाडसारी मिल्स प्रालि सम्पर्र्किवहीन भएका छन्। यी दुई उद्योगको ८ करोड ४१ लाख बक्यौता छ।

सरकारले किसानलाई रकम भुक्तानी गर्न सहमत गरेपछि अधिकांश किसानले अहिलेसम्म भुक्तानी नपाएको गुनासो गरेका छन्। केही अगुवा किसानहरूले मात्रै भुक्तानी पाएको गुनासो किसानहरूको छ।

प्रतिक्रिया दिनुहोस्