मूल्यमान्यता विपरीत चल्ने ५ सहकारीको इजाजत खारेजी



परिवर्तन देवकोटा, काठमाडौं। 

मूल्यमान्यताअनुसार नचलेका सहकारी संस्थाहरूको इजाजत खारेज गरिएको छ। आचरणमा त्रुटी देखिएका विभिन्न ५ सहकारी संस्थाहरूको इजाजत खारेज गरिएको सहकारी विभागका रजिस्ट्रार टोकराज पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार, काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तपोभूमि कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्थाको खारेजी गरिएका छन्।

यस्तै खारेजीमा पर्ने अन्य तीन सहकारी संस्थाहरूमा गोंगबुको भारतीय पूर्वसैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषि सहकारी संस्था छन्।

यी सहकारी संस्थाहरूले गलत कृयाकलाप गरेको, सम्पत्ति शुद्धीकरणको प्रयास लगायतका कार्य गरेको पाइएकाले इजाजत खारेज गरिएको रजिस्ट्रार पाण्डेले जानकारी दिनुभयो।

विभागले पहिलो पटक सहकारी संस्थाहरूको इजाजत खारेज गरेको हो। सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिस्ट्रार पाण्डेले पहिलो पटक सहकारी संस्था खारेजीको निर्णय गर्नुभएको हो।

यसअघि तत्कालीन सहकारी डिभिजन कार्यालयहरूले सहकारी संस्था खारेज गर्ने गरेका थिए। हाल सहकारी डिभिजन खारेज भएर नियमनको अधिकार स्थानीय तहमा गएको छ। अहिले स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमनको अधिकार स्थानीय तहले नै पाएका छन्।

तर सहकारी ऐनको दफा ८८ मा सहकारी संस्थाका बहुमत सदस्यले विगठनका लागि निवेदन दिएमा विभागले खारेज गर्न सक्ने व्यवस्था गरेको छ।

त्यति मात्र नभई विभागका रजिस्ट्रार वा रजिस्ट्रारबाट अधिकार प्राप्त व्यक्तिले समेत सहकारी सिद्धान्तअनुसार काम गरेको नपाइए खारेज गर्न सक्ने ऐनको उपदफा (३) मा व्यवस्था छ।

उक्त व्यवस्थालाई टेक्दै रजिस्ट्रार स्तरीय निर्णयबाट संस्था दर्ता खारेज गरिएको उहाँले जानकारी दिनुभयो। रजिस्ट्रार पाण्डेले अन्य त्यस्ता संस्थाहरू पनि भेटिए खारेजी प्रक्रिया अघि बढाइने नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो

पछिल्लो समय सहकारी संस्थाहरूमा अनियमितता तथा बेथिति बढ्दै गएको गुनासो बाहिरिन थालेको छ। सोही बेथितिलाई रोक्न नियमनकारी निकाय सहकारी विभागले सक्रियता बढाएको हो।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल समाजमा उपस्थित नभएका सहकारी संस्थाहरूको इजाजत खारेजी नै उपयुक्त हुने बताउनुहुन्छ।

नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले सहकारी विभागले सक्रियताका साथ सहकारी संस्थाहरूको अनुगमन, नियन्त्रण तथा कारबाहीमा लाग्नुपर्नेमा जोड दिनुभयो।

‘दर्ता भएका तथा कारोबार नगरेको नचलेको संस्थाहरू विघटन गर्ने पुरानैदेखिको परिपाटी हो’, उहाँले भन्नुभयो– ‘यस्ता काम नगरेका तथा नगर्ने संस्थाहरू विघटन नै राम्रो हो नि।’

पछिल्लो समय सहकारी संस्थाहरूमा मूल्यमान्यताविपरीत काम हुने गरेको गुनासो आइरहेको छ। महासंघका अध्यक्ष कँडेलले त्यस्तो गुनासोलाई सम्बोधन गर्न सहकारी विभागले सक्रियताका साथ अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘मूल्यमान्यताविपरीत सहकारी चल्छन् भने त विभागले अनुगमन तथा नियन्त्रण गर्नुपर्यो।’

अनुगमनपछि सुध्रन निर्देशन दिने र तोकिएको समयमा पनि संस्था नसुध्रिए कारबाही तथा खारेजीको बाटो अपनाउन विभागको ध्यानाकर्षण गराउनुभयो।

उहाँले छरिएर रहेका पुँजीलाई सहकारी अभियानमार्फत सहकारीको मूल्यमान्यताभित्र रहेर सदस्यको जीवनस्तर बदल्न सहकारीले महत्तवपूर्ण भूमिका खेल्ने बताउँदै सहकारी आफ्नो मूल्यमान्यताअनुरूप चल्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्