महासंघ र श्रम संगठनबीच सम्झौता



काठमाडौं, (नेस)।

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

महासंघ सचिवालयमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले आईएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भइरहेकोमा धन्यवाद दिँदै अब सञ्चालन हुन लागेको नयाँ परियोजनाले महासंघको प्रदेशस्तरीय संगठनको क्षमता विकास एवं प्रदेश सरकारसँगको सहकार्य र सम्बन्ध सुधार गर्न मद्दत पुग्ने बताउनुभयो।

परियोजनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा डीएफआईडीलाई धन्यवाद दिँदै महासंघ डीएफआईडीसँग मिलेर थप कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको धारणा प्रस्तुत गर्नुभयो।

सो अवसरमा महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले यस परियोजनाद्वारा सञ्चालन हुने कार्यक्रमले प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासका साथै प्रदेशस्तरमा सामाजिक संवाद र श्रम सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सोही अवसरमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले यो परियोजनाको कार्यान्वयनबाट व्यवसायिक वातावरण प्रवद्र्धन गर्न सहयोग पुग्ने धारण व्यक्त गर्नुभएको थियो।

हस्ताक्षर कार्यक्रममा सहभागी हुनुभएका डीएफआईडी नेपाल अफिसका निजी क्षेत्र विकास सल्लाहकार रोबर्ट क्लाकले यो परियोजना सञ्चालनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै डीएफआईडीले नेपालको रोजगारी प्रवद्र्धन सिप विकासका क्षेत्रमा निजी क्षेत्रसँग मिलेर सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो।

सो अबसरमा आईएलओका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माले डीएफआईडीको आर्थिक सहयोगमा प्रदेश २ र प्रदेश ५ लाई लक्षित गरी सञ्चालन हुने कार्यक्रमले व्यवसायसम्बन्धी ऐन कानुन बारे जानकारी दिन र प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्