प्रविधिलाई गाली !



केही समययता ‘मोबाइलका कारण बालविवाह बढ्यो’ भन्ने बेहोराका समाचार बढेको देखिन्छ । कुनै युग थियो ‘लेख्न–पढ्न जान्ने भए भने छोरीहरू …. जान्छन्, त्यसैले विद्यालय पठाउनुहुन्न’ भनेर महिलालाई पढाइबाट टाढा राखिन्थ्यो ।

तर, अहिले मोबाइल फोनजस्तो समयको आविष्कारबाट टाढा राख्ने दलिल गरिने गरिन्छ । यद्यपि यो दलिल पनि टिक्नेवाला भने छैन, तर पनि बालविवाहको कारण भने खोज्नैपर्ने भएको छ ।

कुनै पनि कारणले किशोरावस्थामै विवाह बन्धनमा परेका छोरीहरूमध्ये अधिकांशले आजीवन विभिन्न समस्याको सामना गर्नुपरेको देखिन्छ ।

पछिल्लो समाचारअनुसार काभ्रे जिल्लामा बालविवाहको ग्राफ निकै माथि छ । सो जिल्लाको महाभारत गाउँपालिकाको गोकुले माध्यमिक विद्यालयमा २०७६ वैशाखमा ६ सय ३३ विद्यार्थी भर्ना भएकामध्ये आधाजसो बीचमै विद्यालय छोड्ने गरेको देखिएको छ– अहिले करिब चार सय मात्र विद्यार्थी विद्यालयमा छन् ।

त्यसमध्ये अधिकांश केटीहरू बालविवाहका कारण विद्यालय आउन बन्द गरेको समाचारमा उल्लेख छ । शिक्षक र अभिभावकले एकमुख भएर गरेको टिप्पणी हो– मोबाइल फोनका कारण उनीहरूले छिटो विवाह गरी ठाउँ छोडेकाले विद्यालय नआएका हुन् ।

फोन र मोबाइल चलाउने किशोरीलाई यही माध्यमको प्रयोग गरेर केटाहरूले फकाउने र भगाउनेसम्मको अवस्था रहेको उनीहरूको भनाइ छ । महाभारत क्षेत्रमा विद्यार्थीले मात्रै होइन २० वर्ष नपुगी विवाह गर्ने शिक्षिकाहरू पनि काखे बालकका साथ विद्यालय आउने गरेको समाचारमा उल्लेख छ ।

यसरी विवाह गर्ने किशोरीहरू १४ वर्षका मात्र पनि रहेको विवरण छ । अभिभावकको सरसल्लाह र सम्मतिबिना विवाह गर्ने यस्ता बालबालिकाले सामाजिक र कानुनीरूपमा समेत समस्या भोग्नुपरेको छ ।

स्वाभाविक छ, एकातिर उमेर नपुगी विवाह गर्ने र आमा बन्ने कारणले उनीहरू स्वास्थ्य समस्यामा त पर्छन् नै साथमा व्यक्तित्व विकासमा पनि अवरोध भोग्दछन् ।

सामाजिक र राजनीतिक अवसर पाउन पनि सक्तैनन् । कानुनीरूपमा विवाह दर्ता पनि हुन्न र भागेर विवाह गरेका कारण माइतीबाट पनि असहयोगको सम्भावना रहन्छ ।

तर के, यी सबै अवस्थाका लागि दोषी मोबाइल फोन, इन्टरनेट र वाइफाइको उपलब्धता नै हो त ? नयाँ सुविधा र वैज्ञानिक आविष्कार मानव कल्याणका लागि हुन्, यसले कतै समस्या सिर्जना गर्यो भने त्यसको दोष त्यसका सञ्चालक वा प्रयोगकर्ताहरूको हो ।

तर, प्रयोगकर्ताका रूपमा संकेत गरिएका बालिका वा किशोरीहरूलाई दोष दिन भने मिल्दैन । कति अभिभावकलाई लाग्छ, टेलिभिजनले बालबालिकाको पढाइ बिगार्छ, त्यसैले घरमै टेलिभिजन ल्याउनु हुन्न र ल्याए पनि बालबालिकालाई हेर्न दिनुहुन्न, उनीहरूलाई पढ्न कोठामा ढोका लगाइदिएर आफू मात्र हेर्नुपर्छ ।

तर, सर्वेक्षणले देखाएको छ, नियन्त्रणमा रहेका भन्दा सबै सुविधा पाएका तर कुन वस्तुको कति प्रयोग कसरी गर्ने भन्ने बुझेका बालबालिका नै पढाइ र भविष्यप्रति सजग देखिन्छन्, सफलता पनि हातपारेका छन् ।

त्यसैले, बालविवाहमा पनि अभिभावकीय भूमिका सफलताका साथ निर्वाह भए मोबाइल फोन र इन्टरनेटजस्ता आधुनिक उपलब्धिहरू दोषी सावित हुनेछैनन् ।

प्रतिक्रिया दिनुहोस्