भ्रष्टाचारविरुद्ध कमान्डर



निर्देशक एलआर विवेक सापकोटाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म कमान्डर भोलि शुक्रबार रिलिजमा आउने भएको छ। फिल्ममा भरमार एक्सन, लभ र सेन्टिमेन्टस् रहेको निर्देशक सापकोटाले फिल्मबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दाबी गरे।

‘फिल्ममा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ’, निर्देशक सापकोटाले भने– ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका सामाजिक बेथितिविरुद्धको प्रतिनिधि आवाजलाई फिल्ममा प्रस्तुत गरेका छौं।’

निर्देशक सापकोटाकै लेखन रहेको फिल्ममा अनुपविक्रम शाही, रवीन तामाङ, साधना सिल्वाल, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन्।

कार्यक्रममा अभिनेत्री साधनाले कमान्डर पूरै मनोरञ्जनले भरिएको दाबी गरिन्। ‘पहिला केही म्युजिक भिडियोमा अभिनय गरेको भए पनि यो नै मेरो डेब्यु फिल्म भएकाले यसबाट निकै आशावादी छु।

पहिलो प्रयास भएकाले सक्दो राम्रो गर्ने कोसिस गरेकी छु।’ –उनले भनिन्। यही फिल्मबाट डेब्यु गरेकी नवअभिनेत्री सगुनले पनि आफू कमान्डरबाट निकै आशावादी रहेको बताइन्।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सहनिर्मातामा सावनजंग राना छन्। दिव्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यको कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्