‘स्मार्ट सिटी’ भन्दा अब्बल भुजुङ



मनोज रेग्मी, भुजुङ, लमजुङ ।

जिल्लाको ग्रामीण भेगमा पर्ने सुन्दर बस्ती, भुजुङ। भुजुङ पुग्ने जो कोही प्रकृतिसँग रमाउँछ। बस्तीबाट सजिलै देखिने हिमशृंखला, स्वच्छ हावा, मुटु नै ठिहिर्याउने चिसो पानी, दक्षिणतर्फ नागबेली आकारमा सुसाउँदै वहने मिदिम खोला अनि बस्तीसँगैको कइयो झरना यस्ता दृश्य जति हेरे पनि मन नअघाउने।

क्वालासोत्तर गाउँपालिका–४ (भुजुङ गाउँ)बाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गोजस्ता फराकिला र उर्वर फाँटको दृश्य कुशल चित्रकारको सिर्जनाझैं लाग्छ।

हरेक वर्ष भदौ महिनाको अन्तिम साता ‘भदौ सभा’ बसेर एक वर्षका लागि गाउँमा कानुन निर्माण गरिन्छ।सभाले नीतिनियम बनाउनुका साथै विभिन्न वस्तुको मूल्यसमेत तोक्छ।

यस्ता दर्जनौं दृश्य नियाल्दा र क्यामेरामा कैद गर्दा समय बितेको पत्तै हुँदैन। उताबाट फर्कनेको मन कयौंदिनसम्म भुजुङमै रमिरहन्छ।

हिमाली काखको बस्ती, परम्परागत रहनसहन, गुरुङ संस्कृतिको खानी, लोपोन्मुख कुसुण्डा, घाटु, कृष्णचरित्र, सेर्गा, घ्याप्री, पच्यु, सोरठीजस्ता सांस्कृतिक नृत्य सोही ठाउँमा देख्न पाइन्छ।

लोकल चामलको भात, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालु अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको स्वाद।

कति मिठो, कति स्वादिलो शब्दमा वर्णन गरेर नसकिने। पाहुनालाई ईश्वरसरह व्यवहार गर्ने यहाँका गुरुङ समुदायको आतिथ्यले र मीठो मुस्कानसँगै माछापुच्छे«, अन्नपूर्ण, हिमचुली, मनास्लु, लमजुङ, बौद्धलगायतका हिमशृंखलाको मनोरम दृश्यले पर्यटक लोभिन्छन्।

पूर्वको पर्यटकीय गन्तव्य इलामको झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिर भुजुङ पुग्दा घुम्न छुटाउन नहुने गन्तव्य बनेका छन्।

एकै गाउँमा चिटिक्क परेका चार सय घर गुजुमुज्ज शैलीमा एकै ठाउँमा अटाएका छन्। बस्तीभित्रका ढुंगाले बिच्छ्याइएका बाटा निकै सफा देखिन्छन्, ‘स्मार्ट सिटी’ लाग्ने।

भुजुङबासीको आफ्नै कानुन

भुजुङबासीले देशको कानुन मान्दछन् तर उनीहरूसँग आफैले बनाएको संसद् छ, आफैले कोरेको कानुन छ। हरेक वर्ष भदौ महिनाको अन्तिम साता ‘भदौ सभा’ बसेर एक वर्षका लागि गाउँमा कानुन निर्माण गरिन्छ।

सभाले नीतिनियम बनाउनुका साथै विभिन्न वस्तुको मूल्यसमेत तोक्छ। स्थानीयले उत्पादन गरेका जुनसुकै वस्तुको भाउ यही सभामा तोकिन्छ, व्यवहारमा पनि उतारिन्छ।

स्थानीय रीतिथिति व्यवस्थापनका लागि आयोजना हुने सभामा प्रत्येक घरधुरीबाट कम्तीमा एक जना अनिवार्यरूपमा सहभागी हुन्छन्।

लोडसेडिङमुक्त गाउँ

भुजुङ गाउँ लोडसेडिङमुक्त छ, त्यसैले स्थानीयलाई लोडसेडिङको चिन्ता छैन। गाउँलेहरूले २०५६ मा आफ्नै श्रमदान र विभिन्न सघं/संस्थाबाट आर्थिक सहयोग जुटाएर गाउँकै मिदिम खोलाबाट ८० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरेका छन्।

विकासका लागि आफ्नो श्रम र सीपलाई सदुपयोग गरेका भुजुङबासीका लागि शहरबजारको लोडसेडिङ नयाँ र नौलो विषय बन्ने गर्छ।

आफ्नै “रोप वे”

भौगोलिक हिसाबले भुजुङ निकै नै विकट मानिन्छ। तर जीवनस्तर सहज बनाएको छ आफ्नै ‘रोप वे’ (केबलकार)ले। कुनै बेला निकै ठूला भारी बोकेर दुई घण्टा उकाली–ओराली गर्ने भुजुङबासी अहिले केबलकारबाट सामान ओसार–पसार गर्छन्।

मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा चर्चामा मात्रै सीमित हुने गरेको केबलकारमार्फत यहाँका स्थानीय भने बेसीमा हुने धान र अन्य उत्पादन केही मिनेटभित्रै घरमा भित्र्याउँछन्।

यस्ता उदाहरणले आम नेपालीलाई सधैं परनिर्भर हुन पर्दैन भन्ने गतिलो पाठ सिकाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) स्थापना भएपश्चात् यस गाउँमा विकासको अनुभूति गरेको स्थानीय बताउँछन्।

“चिया बगान” इलामको झल्को

गाउँलेहरूले गरेको सामूहिक चियाखेतीले सो ठाउँले इलामको झल्को दिन्छ। घरछेउमै ठूलो चिया मिल छ। उनीहरू त्यहींबाट अर्गानिक चिया उत्पादन गर्छन् र व्यापार पनि गर्छन्।

आफ्नै उत्पादनले गर्दा बजारमा पाइने चियाको स्वादमा उनीहरू रमाउँदैनन्। अर्गानिक चियाको स्वादले पाहुनालाई पनि खुसी बनाउँछन्। स्थानीयले हातैले माडेर डेढ दशकसम्म चिया बनाए।

कोसेलीका रूपमा बेलायत, अमेरिका र हङकङसम्म पठाए। भुजुङ पुग्ने पर्यटकले पनि त्यहींको अर्गानिक चियालाई कोसेली बनाउने गरेका छन्। यहाँको चिया अहिले स्वदेश र विदेशमा निर्यात हुन थालेको छ। चिया ‘भुजुङ टी’ नामबाट बिक्री हुन्छ ।

होमस्टेको “किङ” भुजुङ

भुजुङका १८ घरमा सुविधा सम्पन्न होमस्टे (घरबास सेवा) छ। होमस्टेबाट पनि स्थानीयले आयआर्जन गरेका छन्। चिटिक्क परेका मौलिक र पुराना घरमा बास बस्न पाइन्छ।

घरको आगनबाट प्रस्टै नियाल्न सकिने हिमशृंखला र पहाडी दृश्य। बाह्रै महिना चिसो मौसम, गुरुङ भाषामा बोलीचाली पाउँदा भुजुङ पुग्ने सबैलाई नौलो अनुभूति हुन्छ। अझ होमस्टेको स्वाद त कसैले भुल्नै सक्दैन।

त्यसैले भुजुङलाई होमस्टेको ‘राजधानी’ नै मानिन्छ। भुजुङगाउँमा पुग्ने सबै पर्यटकलाई गाउँले मिलेर स्वागत सत्कार गर्ने गर्दछन्। स्थानीय भाषाका विभिन्न गीत गाउँदै स्वागत गरिन्छ। त्यसपछि मात्रै पाहुना राख्ने र पाहुना बस्ने घरको टुङ्गो लाग्छ।

भुजुङ जाँदा घलेगाउँमा विश्राम

भुजुङ जाने यात्रु एक दिन घले गाउँमा विश्राम गर्छन्। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मानिन्छ। यहाँ ८० घरधुरी गुरुङ र ४५ घर दलित समुदायका छन्।

सो क्षेत्रमा २०५७ देखि १२ वटा घरबाट होमस्टे कार्यक्रम शुरू गरिएको थियो। त्यसपछि यो क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्र होमस्टे गाउँका रूपमा विकास गरियो। हाल यहाँ ३० वटा घरमा होमस्टे कार्यक्रम सञ्चालन छ।

यहाँ सञ्चालित घरबासमा पर्यटक लक्षित १ सय २६ वटा कोठा छन्। भेडीगोठका भेडा, च्यांग्रा, खसी, लोकल कुखुराको मासु र माछाको सुकुटी, घरैमा उत्पादित कोदोको रक्सीको स्वाद यहाँ पुग्ने कसैले भुल्न सक्दैन।

पुर्खाको सम्मानका लागि स्थानीयले अन्तिम घले राजाको सालिकसहित पार्क निर्माण गरेका छन्। गाउँमै गुरुङ संस्कृति झल्काउने सार्क भिलेज पर्यटन संग्रहालय पनि स्थापना गरिएको छ, जहाँ पुराना हात हतियार, भाँडाकुँडा, जाँतो, गोल घर, स्मारक अनि गुरुङ जातिको पुरातन सांस्कृतिक पोसाक हेर्न पाइन्छ।

विश्वको ध्यान खिच्न सफल यो गाउँमा फागुनदेखि कात्तिक महिनासम्म पर्यटकको भीड थामिनसक्नु हुन्छ। घलेगाउँमा गाउँले परिवेश बुझ्न, स्थानीय घले तथा गुरुङ समुदायको संस्कृति हेर्न तथा प्रकृतिसँग रमाउन पर्यटक पुगिरहन्छन्।

दक्षिण एसियाली मुलुकभरि नै यस किसिमको भौगोलिक बनावट, मौलिक संस्कृति तथा प्राकृतिक सौन्दर्य नपाइने भएकाले घलेगाउँले ‘नमुना गाउँ’को उपाधि पाएको हो।

काठमाडौंबाट डुम्रे बजारसम्म ५ घण्टा बसयात्रा, डुम्रेबाट ४२ किलोमिटर लमजुङको सदरमुकाम बेसीशहर पुगेर २५ किलोमिटरको पद यात्रामार्फत घलेगाउँ पुग्न सकिन्छ।

पदयात्रा नरुचाउने, शारीरिकरूपमा अशक्त र स्वास्थ्य समस्या हुनेका लागि बेसीशहरबाट गाडी चढेर घलेगाउँ पुग्ने सुविधा छ।

बिजुलीका तार “भूमिगत”

भुजुङ गाउँ कुनै शहरभन्दा कम छैन। यहाँ गुजुमुज्ज शैलीका घर त छन् तर शहरमा जस्तो बिजुलीका तार छताछुल्ल छैनन्। हेर्दा पनि अचम्म लाग्ने, स्मार्ट सिटीभन्दा कम नलाग्ने भुजुङ गाउँ साँच्चिकै सुन्दर छ।

अझ योभन्दा पनि अचम्मको कुरा त के छ भने फोहोर पानी बग्ने नाला पनि भूमिगत छन्। त्यहाँ पुगेपछि फोहोर नै देखिँदैन। त्यसैले त पर्यटकको मन रमाउँछ यहाँ।

जता हेर्यो त्यतै ढुंगा अनि तिनै ढुंगा कुँदेर बनाइएका सफा बाटा। अनि त्यही बाटोमुनिबाट बग्ने नाली। कस्तो आन्नद ! कस्तो सुन्दर !

भुजुङमा ओरियन्ट कलेजका विद्यार्थीको ‘रिसर्च’

पर्यटकीयस्थल भुजुङ गाउँमा हालै ओरियन्ट कलेज काठमाडौंका विद्यार्थीले अन्तक्र्रिया, स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरे। स्नातकतहमा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीले त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिकलगायतका विषयमा अनुसन्धान गरे।

सामाजिक कार्यक्रम संयोजक साधना थापाको नेतृत्वमा भएको ‘रिसर्च क्याम्प’मा दुई सय ४० घरधुरीमा सर्वेक्षण भएको कलेजले जनाएको छ।

स्कुल तथा कलेजमा पढेका र सुनेका सैद्धान्तिक कुरालाई व्यवहारमा उर्तान भुजुङका स्थानीयसँग अन्तक्र्रिया गरिएको कलेजले प्रस्ट्याएको छ।

सर्वेक्षणका क्रममा सो क्षेत्र जातीय भेदभाव र बालविवाह मुख्य रहेको पाइएको छ। भुजुङबाट हरेक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएकाले वर्षौंदेखि चल्दै आएको सामाजिक रहनसहन र रोदी पनि लोप हुने अवस्थामा पुगेको अनुसन्धानका लागि जुटेका विद्यार्थीले बताए।

पाँच दिनको बसाइमा विद्यार्थीले समुुदायका समस्या र समाधानका उपायको बारेमा समूहसँग छलफलसमेत चलाए। यस क्रममा उनीहरूले समाजका अग्रज, जनप्रतिनिधि र महिला स्वयंसेवीसँग भेटघाट गरेका थिए।

विद्यर्थीले गरेका कार्यक्रमका केही झलकहरु

प्रतिक्रिया दिनुहोस्