पूर्व गृह सहायक राज्यमन्त्री बिस्टको निधन



सलिम अन्सारी, प्युठान । पूर्व गृह सहायक राज्यमन्त्री टंक बहादुर बिष्टको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मृगौला र सुगर रोगको समस्या झेल्दै आउनु भएका बिष्टको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार निधन भएको हो । पंचायतकालमा (२०४० देखी २०४३ सम्म) गृह सहायक राज्यमन्त्री रहनु भएका बिष्टले सामाजिक क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । संभवतः उहाँको बिहिवार बिहान झिमरुक नदिमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ । बिष्टका ४ छोरा र १ छोरी छन ।

विक्रम संवत् १९८० साल साउन २९ गते जिल्लाको प्युठान नगरपालिका २ क्वाडिमा जन्मनु भएका बिष्ट तत्कालीन समयमा प्युठान जिल्लामा ३ पटकसम्म राष्ट्रिय पन्चायतको निर्बाचित सदस्य, सल्लाहकार शभाको सदस्य, जिल्ला पन्चायत सभापति, गाउँ पन्चायतको प्रधानपन्च समेत हुनभएको थियो । जिल्लामा पुराना, त्यागी र इमान्दार, समाजसेवी एवं राजनीतिज्ञको छवि बनाउनु भएका बिष्ट २०४१ सालमा लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा गृह सहायक राज्यमन्त्री र २०४२ मा निर्माण यातायात सहायक मन्त्री समेत हुनु भएको थियो । उहाँले ईमान्दारिताका साथ जिल्लाको बिकासका लागि काम गरेको स्थानिय बताउछन।नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका संस्थापक बिस्टको जिल्ला अस्पताल स्थापना लगायतका विभिन्न विकास निर्माणमा योगदान रहेको छ । निर्माण यातायात सहायक मन्त्री हुनु भएका बिष्टले दाङ(प्युठान सडक निर्माणमा मुख्य भुमिका खेल्नु भएको थियो । विशेषगरी दाङ मुर्कुटि देविस्थान प्युठान (हाल नामाकरण गरिएको मदनभण्डारि राजमार्गको एक खण्ड) मोटर वाटो निर्माणकार्यमा उाहाको निकै सकृयता रह्यो ।

पञ्चायमा तथा दाङ प्युठान सडक निर्माणमा प्युठान क्षेत्रमा उहाँ र दाङ क्षेत्रमा एकराज शर्मा तथा गजराज अधिकारी विशेष सकृय हुनुहुन्थ्यो । दाङ(प्युठान वाटो खन्ने क्रममा २०३४ साल कार्तिक १५ गते एकराज तथा गजराजलाई संयुक्तरूपमा सम्वोधन गरि उहाँले पत्र लेख्नु भएको हो । पत्रमा वाटोमा भएका खर्चपर्चका कुराहरु सहित सोहि साल मंसिर ६ गते दाङ रोल्पा र प्युठानको संयुक्त वैठक दाङको हरनोकमा वस्ने उल्लेख छ। पछिल्लो समय स्वतन्त्र रुपमा रहदै आउनु भएका बिष्ट पञ्चायत पछि लोकतान्त्रिक आन्दोलनमा केही समय देखिनु भएको थियो । जिल्लाका राजनितिक दल र तीनका नेताकार्यकर्ताहरुले उहालाइ राजनितिक तथा सामाजिक अभिभावकका रुपमा समेत मान्दै आएका थिए । बिष्टको निधनले जिल्ला सोकमा छ । जिल्ला स्थित राजनितिक एव सामाजिक अगुवाहरुले बिष्ट्रको निधनले जिल्लालाई ठूलो क्षति पुगेको बताएका छन। बिस्ट जिल्लाका एक अग्रणी समाजसेवी र शिखर ब्याक्तित्व रहेको उल्लेख गर्दै धेरैले सामाजिक संजाल फेसबुकमा उहाँप्रती श्रदान्जली लेख्दै जिल्लाले एकजना इमान्दार,सरल र भद्र ब्याक्ती गुमाएको टिप्पणी समेत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्