‘तेस्रोलिंगी अजिताको हत्या निर्मलाको हत्या प्रकरणजस्तो गुपचुप नहोस्’



न्युज अफ नेपाल, हेटौंडा ।

निलहीरा समाज तथा फ्रेन्ड्स हेटौंडाले हेटौंडाकी २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलका हत्यारालाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गरेको छ । हेटौंडामा बुधबार पत्रकार सम्मेलन गरी समाज मकवानपुर कार्यक्रम संयोजक किरण थापा (सुरज) ले आफूहरुका सहकर्मी अजिताको बलात्कारपछि निर्मम हत्या भएको दाबी गर्दै हत्यारालाई चाँडोभन्दा चाँडो खोज्न प्रहरीसमक्ष अनुरोध गर्नुभयो । संयोजक सुरजले अजिताको हत्यासम्बन्धमा आफूहरुमाथि भ्रम फैलाइएको स्पष्ट पार्नुभयो । उहाँले यो अपराधीको षडयन्त्र भएको बताउनुभयो । बलात्कारपछि हत्या भएको भन्ने आफूहरुलाई विश्वास लागेकोले यसबारे गम्भीर भएर अनुसन्धान गर्न उहाँले माग गर्नुभएको छ ।

अजिताको हत्या निर्मलाको हत्या प्रकरणजस्तो गुपचुप नहोस् भन्दै उहाँले पत्रकार सम्मेलनमा अजिता तेस्रोलिंगीमात्र नभएर नागरिकसमेत भएकोले छानबिन प्रभावकारी हुनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले अजिताको हत्याले सम्पूर्ण तेस्रोलिंगी तथा समलिंगी समुदाय त्रासमा परेको भन्दै हत्यारा जोकोही भए पनि कडा कारबाहीको माग गर्नुभएको छ । भुजेलले मकवानपुरबाट पहिलोपटक तेस्रोलिंगी नागरिकका रुपमा नागरिकता प्राप्त गर्नुभएको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तथा मानवअधिकार क्षेत्रमा काम गर्दै आउनुभएकी भुजेलको हत्या हुँदा किन कोही मानवअधिकारकर्मी बोलेनन् भन्ने प्रश्न गर्नुहुन्छ सुरजकिरण ।

‘लैंगिक हिंसा तथा महिला हिंसाविरुद्ध कुनै कार्यक्रम नछुटाउने भुजेलको हत्या हुँदा कोही पनि बोल्न नसक्नु नै हाम्रो समाज हालसम्म पनि परिवर्तन हुन नसकेको देखाउँछ,’ थापा भन्नुहुन्छ–बोलीमा मात्र परिवर्तन भएको छ, व्यबहारमा परिवर्तन भएको छैन, आजसम्म पनि हामीलाई हेर्ने नजर त्यही नै छ । ‘किन यसमा महिलाबादी बोल्दैनन् ?,’ थापाले प्रश्न गर्नुभयो ।

पत्रकार सम्मेलनमा बताइएअनुसार भुजेल करिब दुई महिनादेखि एक युवकसँग ‘लिभिङ टुगेदर’ मा बस्दै आउनुभएको थियो । उनी अजिताको शव भेटिएपछि फरार छन् । उनीहरु बिहे नगरी आपसी समझदारीमा पति–पत्नीका रुपमा बस्दै आएको जानकारी आफूहरुलाई आएको थापाले जानकारी गराउनुभयो ।
अजिताकी साथीसमेत रहनुभएकी थापाले २ महिनादेखि अजिताको उक्त व्यक्तिसँग सम्बन्ध रहेको र उनको शव भेटिएपछि ती व्यक्ति फरार हुनु शंकाको विषय भएको बताउनुभयो । आफूलाई अजिताले ती व्यक्तिको फोटो देखाएको तर आफूहरुले उक्त व्यक्तिसँग भेटे नगराएको उहाँको भनाइ छ । थापाले ती व्यक्तिको तस्बीर प्रहरीलाई उपलब्ध गराइसकेको बताउनुभयो ।

हत्या भएपछि भएको पोष्टमार्टमको कागजी रिपोर्ट नआए पनि उनको बलात्कारपछि निर्मम हत्या भएको जानकारी आएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–५ को क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रोलिंगी भुजेलको हत्यामा संलग्न भएको आरोपमा हेटौंडाबाट ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले हत्यामा संलग्न भएको आशंकामा केही युवालाई पक्राउ गरिएको बताउनुभयो । घटनाको अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको उहाँले जानकारी दिनुभयो । मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले अजिता हत्या प्रकरणलाई प्रहरीले गम्भीरतापूर्वक लिएको र केही दिनमा अपराधी पक्राउ पर्ने बताउनुभयो ।

भुजेलको गत शनिवार हेटौंडा–५, क्याम्पाडाँडामा अर्धनग्न अबस्थामा शव फेला परेको थियो । मृतक भुजेलको घाँटी र टाउकोमा लागेको चोटले हत्या भएको आशंका प्रहरीले गरेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालयले विशेष टोली बनाएर अनुसन्धान गरिरहेको जनाएको छ ।अजिताको हत्या गरिएको अबस्थामा माघ ४ गते शव फेला परेपछि परिवारका एकमात्र सहारा डुबेपछि अजिताका ७६ वर्षीय हजुरबुबा भक्तबहादुर नातिनीको काजकिरियामा हुनुहुन्छ । पहिला अजय नाम थियो, पछि उनी आफंैले नाम परिवर्तन गरी अजिता राखेकी थिइन् ।

उहाँकी ७० वर्षीया हजुरआमा कृष्णाकुमारी भुजेलले अपराधी पक्राउ परे आफूहरुलाई न्याय हुने बताउनुभयो । नातिनी सम्झँदै कृष्णाले भन्नुभयो–हाम्रो त सहारा नै खोसिएको छ । आफूलाई महिला बताउन चाहने अजिता परिवारसँग संघर्ष गरेर घर छाडेर हिँडे पनि घरमा बेलाबेलामा जानुहुन्थ्यो, हजुरबुबा र आमालाई केही सहयोग गर्नुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्