पर्यटकको रोजाइमा ‘यारुजो डाँडा’



प्रताप बानियाँ, मुस्ताङ ।
हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा ‘यारुजो डाँडा’ पर्ने गरेको छ । पर्यटकीय आकर्षण बोकेको यारुजो डाँडाबाट हिमाली जिल्ला मुस्ताङ र आसपासको अधिकांश क्षेत्रहरुको अवलोकन गर्न सकिने हुँदा पछिल्लो समय पर्यटकको आकर्षण बढेको हो । यारुजो डाँडा पछिल्लोपटक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गैरहेको छ । हिमाली जिल्ला मुस्ताङ आफैमा पनि सुन्दर, मनमोहक र आकर्षण बोकेको जिल्लाका रुपमा चिनिन्छ । मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँभन्दा माथि रहेको यारुजो डाँडा पर्यटकीय क्षेत्र बनेको छ । या भनेको याक, रु भन्नाले याकको सिङ र जो भनेको डाँडा अर्थात् याकको सिङ जस्तो देखिने हुँदा यस डाँडालाई यारुजो नामाकरण गरिएको स्थानीय बताउँछन् ।

यारुजो डाँडाबाट पवित्र कालीगण्डकी नदी र वरिपरीको वस्ती निकै रोमाञ्चक देखिन्छ । यारुजो डाँडा तथा यस डाँडामा बनाइएको भ्यु–टावरमा चढेर हेर्दा निलगिरी, धौलागिरी, मानापाथी, टुकुचे, डोल्पाको हिमाललगायत अन्नपूर्ण हिमश्रृङ्खलाका साथै १ दर्जन बढी हिमालहरु प्रत्यक्ष हेर्न सकिने मुस्ताङका पत्रकार निरज थकालीले जानकारी दिनुभयो । यारुजो डाँडा पछिल्लोपटक मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइमा पर्दै जान थालेको उहाँले बताउनुभयो । यारुजो डाँडाबाट मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित अन्य वस्ती देखिन्छ ।

यसैगरी मुस्ताङको जोमसोम विमानस्थल तथा विमान अवतरण गरेको र उडान भरेको पनि यारुजो डाँडाबाट सजिलै हेर्न पाइन्छ । त्यस्तै मार्फा, पाक्लिङ, फ्ल्याक, स्याङ, समलेक, कागबेनी, कोरला रेन्ज, उपल्लो मुस्ताङको केही भाग र तिब्बतीयन प्लेट टु समेत देखिन्छ । यारुजो डाँडाको भ्रमणमा जाने विदेशी पर्यटकले यसलाई ‘गेट अफ हेभन’ अर्थात् ‘स्वर्ग जाने बाटो’ भन्ने गरेको पत्रकार थजालीले बताउनुभयो । यारुजो डाँडा आसपासको वनजङ्गलका क्षेत्रमा लोपोन्मुख वन्यजन्तु जनावरहरु भेटिने गरेका छन् । राष्ट्रिय पंक्षी डाँफे, हिउँचितुवा, कस्तुरी, मृग, नाउरलगायत जनावर तथा पंक्षीहरु यस क्षेत्रमा पाइन्छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५, नम्बर वडामा पर्ने ठिनी गाउँमा थकाली समुदायको बाहुल्यता रहेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट २ किलोमिटरको दुरीमा रहेको ठिनी गाउँको १ सय १० घरधुरीमध्ये अहिले १२ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा पुग्ने पर्यटकलाई ठिनी गाउँवासीले घ्युको टिका लगाई धुपीको फुल दिएर स्वागत गर्ने गर्दछन् । ठिनी गाउँ भ्रमण गर्न र होमस्टेमा बास बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फापरको ढिँडो, पिठो, रोटीलगायत अर्गानिक खाना खुवाउने र थकाली समुदायको संस्कार अनुसार स्वागत तथा विदाई गरिने होमस्टे सञ्चालक आइतबहादुर थकालीले जानकारी दिनुभयो ।

सञ्चालक थकालीका अनुसार ठिनी गाउँ पुग्ने पर्यटकलाई थकाली समुदायले साँझमा थकालीको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतीले मनोरञ्जन दिन्छन् । साँझ ठिनी गाउँमा बास बसेका पर्यटकहरु बिहान सबेरै उठेर यारुजो डाँडा र ढुम्बातालको अवलोकन गर्न जाने गर्दछन् । यारुजो डाँडा अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले १० लाख रुपैयाँको लागतमा भ्यु–टावर बनाएको छ । एक पटकमा ५ जना मात्रै चढेर हेर्न मिल्ने भ्यु–टावरबाट वरिपरीको दृश्यले पर्यटकलाई लोभ्याउँछ ।

प्रतिक्रिया दिनुहोस्