खाडीबाट फर्केर स्थानीय जातका कुखुरा फार्म संचालन



दुर्गाप्रसाद शर्मा, पर्वत ।

लामो समय खाडी मुलुकहरुमा बसेर फर्किएका यहाँका एक युवा व्यावसायिक कुखुरापालनमा लागेका छन् ।

पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानका विश्वविक्रम श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै कुखुरापालन शुरु गर्नुभएको हो । गाउँमै स्वरोजगार उद्यमी बन्ने सोचले व्यावसायिक कुखुरापालन थाल्नुभएको हो । रु.१५ लाख रुपैयाँ लगानीमा आफूले यो व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो । पोल्ट्रीबाट राम्रो मुनाफा लिन सकिने देखेपछि यस क्षेत्रमा हात हालेको श्रेष्ठको भनाइ छ । आफ्नो फार्ममा अहिले १ हजार लोकल कुखुरा रहेको उहाँले बताउनुभयो ।

‘विकसित जातको तुलनामा लोकल कुखुराबाट राम्रो आम्दानी हुने थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘व्यवसाय थालेको एक वर्षको अवधिमा राम्रै आम्दानी हुने संकेत मिलेको छ ।’

जिल्लामा ब्रोइलर र लेयर्स जातका कुखुरापालन गर्ने व्यवसायी बढ्दै गएका छन् । यससँगै स्थानीय जातका कुखुरा गाउँघरमा हराउन थालेका छन् ।

प्रतिस्पर्धाको हिसाबले समेत उपयुक्त भएपछि आफूले लोकल कुखुरा पाल्ने निर्णय गरेको श्रेष्ठले बताउनुभयो । जिल्लामै आफ्नो बाहेक अन्यत्र स्थानीय कुखुराको व्यावसायिक फार्म नभएको दाबी समेत उहाँले गर्नुभयो ।

‘गाउँघरमा एक–दुईओटा किन्न पाइन्छ,’ उहाँले भन्नुभयो, ‘तर धेरै परिमाणमा चाहिनेले यहीँबाट लैजाने गरेका छन् ।’ श्रेष्ठले दाङको देउखुरीबाट कुखुराका चल्ला ल्याएर व्यवसाय शुरु गर्नुभएको हो । उहाँले व्यवसायको विविधीकरण समेत गर्दै लग्नुभएको छ ।

कुखुरापालनसँगै उहाँले तरकारीको टनेल र होटल समेत थप्नुभएको छ । गाउँमै परिश्रम गर्न सके पैसा कमाउनकै लागि विदेश जानु नपर्ने उहाँको अनुभव छ ।

रोजगारीका लागि विदेश जानुभन्दा सानोतिनो भए पनि स्वरोजगार हुने खालको काम आफ्नै गाउँ–ठाउँमा गर्न उनले अन्य युवालाई सुझाउँदै आउनुभएको छ । कुश्मा–हुवास सडक खण्डको छेउमै फार्म सञ्चालन गरेका श्रेष्ठले कुखुरा विक्रीका लागि बजारको अभाव नभएको सुनाउनुभयो ।

‘बाटो नजिकै भएकाले यात्रुहरुले नै किनेर लैजान्छन,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म बजार खोज्दै हिँड्नुपरेको छैन ।’ यो व्यवसायबाट १ वर्षको अवधिमा सबै खर्च कटाएर आफूले डेढ लाख रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो ।

कुखुराको दानाका लागि उनले स्थानीयस्तरमै पाइने कोदो, मकै, धान लगायत अनाज जुटाउने गरेका छन् । यसले लागत घटाउन टेवा पुगेको उहाँको भनाइ छ । आफूले उत्साहका साथ यो व्यवसायमा लगानी गरे पनि सम्बन्धित निकायबाट भने कुनै सहयोग नपाएको गुनासो उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्