प्राविधिक विषयको पढाइ सञ्चालन गर्न महायज्ञको आयोजना



भक्तपुर,(नेस) ।

प्राविधिक विषयको पढाइ सञ्चालन गर्न चाँगुनारायण माध्यमिक विद्यालयले भागवत महायज्ञ पुराणको आयोजना गर्ने भएको छ ।चाँगुनारायण नगरपालिका वडा नं.१ मा अवस्थित उक्त विद्यालयले बढ्दो प्राविधिक शिक्षाको आवश्यकतालाई मध्यनजर गरी समग्र चाँगुनारायणमा प्राविधिक शिक्षाको विस्तार गर्ने उद्देश्यले श्रीमद् भागवत ज्ञानमहायज्ञको आयोजना गर्न लागेको हो ।

विद्यालयमा नै आयोति पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले प्राविधिक जनशक्तिको उत्पादन विना देशको विकास सम्भव नभएको भन्दै आफूहरुले सामुदायिक विद्यालयमा पा्रविधिक शिक्षाको विकास गर्न यज्ञको आयोजना गर्न लागेको बताउनुभयो ।

विद्यालयले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग जुटाउन विद्यालय हातामा आगामी माघ ११ गतेदेखि ज्ञानमहायज्ञ लगाउन लागिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव खड्काले भागवत ज्ञानमहायज्ञ आयोजना गरी करिव दुई करोड रुपियाँ संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।संकलित रकम अक्षयकोषमा राखेर प्राविधिक शिक्षा अध्यापन गराउने लक्ष्य राखिएको छ ।

महायज्ञ एक सातासम्म सञ्चालन हुनेछ । ज्ञानमहायज्ञमा भागवत भाष्कर पण्डित माधवप्रसाद कुईकेलले पुराण बाचन गर्ने जनाइएको छ । चाँगुनारायण नगरपालिकको नै नमुना विद्यालयका रुपमा विकास गर्दै समुदायिक विद्यालयको खस्केको गुणस्तरलाई उकास्न आफूहरुले महायज्ञका माध्यबाट सबैमा सहयोगको आग्रह गरेको आयोजकको भनाई छ ।शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा अहिले ५ सय १५ जना बिद्यार्थी अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्