स्थानीय तहमा परिचयपत्र वितरण गर्न समस्या



नेपाल समाचारपत्र, बैतडी।

डाक्टर नहुँदा बैतडीका स्थानीय तहहरूलाई अपांगता परिचयपत्र वितरण गर्न समस्या भएको छ। देश संघीयतामा गइसकेपछि साबिकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपांगता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्नुपर्ने हुन्छ।

तर स्थानीय तहबाट अपांगता परिचयपत्र वितरण गर्दा व्यवहारिक कठिनाइ हुने गरेको छ। अपांगता परिचयपत्र वितरण गर्न मेडिकल रिपोर्टमा डाक्टरले प्रमाणित गरेको हुनुपर्ने प्रावधान भए पनि सबै ठाउँमा मेडिकल अधिकृतहरू उपलब्ध नहुँदा अपांगता परिचयपत्र वितरणमा समस्या भएको हो।

गत वर्ष शिविरमार्फत् अपांगता परिचयपत्र वितरण गरेको भए पनि यो वर्ष परिचयपत्र वितरण गर्न नसकेको उपप्रमुख जानकी बमले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हाट स्वास्थ्य चौकीमा मेडिकल अधिकृतको दरबन्दी नभएकाले बाहिरबाट मेडिकल अधिकृत बोलाएर अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्न गाह्रो भईरहेको छ।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मेडिकल अधिकृतको दरबन्दी भए पनि दरबन्दी रिक्त हुँदा परिचयपत्र वितरणमा समस्या भएको उपप्रमुख राधा ओझाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अन्य ठाउँबाट डाक्टर बोलाएर अपांगत भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्नुपरिरहेको छ।’

तल्लो सोराड क्षेत्रको रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शिवनाथ र पञ्चेश्वरमा पनि अपांगता परिचयपत्र वितरणमा समस्या भएको छ।

दशरथचन्द नगरपालिका र पाटन नगरपालिका बाहेकका स्थानीय तहहरूले अपांगता परिचयपत्र वितरणका लागि मेडिकल अधिकृत बाहिरबाट बोलाउनुपर्ने बाध्यता रही आएको छ।

स्थानीय तहमा अपांगता परिचयपत्र वितरणको जिम्मेवारी आएपछि अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र पाउन कठीन भएको अपांगता भएका नागरिकको पुर्नस्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘पालिकामा परिचयपत्र वितरणपत्र गरिने भए पनि डाक्टर नहुँदा सकस हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्