जलजलामा अनियमितता भएको नेकपाको आरोप



नेपाल समाचारपत्र, पर्वत।

जलजला गाउँपालिकामा अनियमितता भएको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गाउँपालिकाको कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएको छ।नेकपाका गाउँपालिका अध्यक्ष दीपक आचार्यको नेतृत्वमा पुगेका नेता तथा कार्यकर्ताहरूले गाउँपालिका उपप्रमुख सिमा गर्वुजा पुन र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मासमक्ष ज्ञापनपत्र बुझाएका हुन्।

गाउँपालिकाका प्रमुखलाई सम्बोधन गरी लेखिएको ज्ञापनपत्रमा संघिय गणतन्त्रको पहिलो माग शासनमा जनताको पहुँच भन्ने रहेको भए पनि गाउँपालिका र मातहतका वडाध्यक्षहरूले नेकपालाई बेवास्ता गर्दै राजनीतिक मनोमानी गरेको आरोप लगाइएको छ।

ज्ञापनपत्रमा नेपाल सरकार र स्थानीय सरकारबाट प्राप्त हुने बजेट जनसंख्याका आधारमा प्रत्येक वडामा वितरण नगरिएको आरोप छ। संघ र प्रदेशबाट आएका विकास योजना कार्यान्वयनमा सहकार्य नगरेको, उत्पादन र वितरणको आधारमा कर प्रणाली लागू नगरिएको आरोप लगाइएको छ।

यस्तै ज्ञापनपत्रमा गाउँपालिकाले अनावश्यक नियुक्त गरेर राखिएका करार कर्मचारीहरूलाई सम्मानपूर्वक बिदाई गर्नुपर्ने, रोजगारीका अवसरमा पालिकाभित्रका बासिन्दालाई पहिलो प्राथमिकता नदिएको आरोप छ।

सार्वजनिक सम्पत्तिलाई पालिकाको नियन्त्रणमा नलिएको, सकुम्बासी समस्याको समाधान नगरिएको, संघीय नियमावलीको आधारमा स्थानीय नियमावली परिषद्बाट पास गराई राजपत्रमा उल्लेख नगरिएको तथा यसो नगरी बनाइएका विद्यालय व्यवस्थापन समितिलाई मान्यता दिन नहुने माग पनि गरिएको छ ।

शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप तथा अनियमितताहरू भएको, दलित तथा जनजातिमाथि भाषिक तथा सामाजिक विभेद गरिएको, पालिकाभित्रका जनप्रतिनिधि तथा एकै घरभित्रका परिवारलाई उपभोक्ता समितिको पदाधिकारी बनाइएको, वडाबाट सिफारिस दिँदा लिइने दस्तुर उपयुक्त नभएको, राजनीतिक विचारका आधारमा सिफारिस दिने गरिएको, वडा तथा गाउँपालिकाबाट सर्वसाधारण एव उपभोक्ता समितिहरूलाई आवश्यक पर्ने सिफारिसहरू तत्कालै उपलब्ध नगराइएको आरोप लगाइएको छ।

गाउँपालिकाका प्रवक्ता भिष्म मल्लले भने नेकपाले लगाएका आरोपहरू सरासर झुटा भएको बताउँदै आपूmहरूले सबै कामहरू नियमपूर्वक नै गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्