वन क्षेत्र अतिक्रमण गरी करोडौं मूल्यको जग्गा हडप्ने प्रयास



गोकुल घोरसाइने, बारा। 

बाराको निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौं मूल्य पर्ने जमिनमा एक व्यक्तिले आफ्नो निजी भन्दै अतिक्रमण गरी पर्खाल लगाएका छन्। प्रस्तावित काठमाडौं निजगढ द्रतमार्गसंग जोडिएको वन क्षेत्रको जग्गा अतिक्रमण भइरहँदा सरोकारवाला निकाय भने मौन देखिएको छ।

बारा र मकवानपुर जिल्लाको सिमा क्षेत्रमा पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ भालुखोलाका सुमन सिं लोप्चनले आफ्नो जमिनको सिमानाबाहिर रहेको करिब २ बिगाहा जमिनमा करिब २० फिट चौडा र २ सय ५० मिटर लामो ढुंगाको पर्खाल लगाएर हड्प्ने प्रयास गरेका हुन्।

स्थानीयले बकैया खोलाबाट सिँचाइका लागि खनेको कुलोको जमिनलाई समेत भित्र पारेर पर्खाल लगाएपछि लालबकैया कृषि सिँचाइ उपभोक्ता संस्था, लालका अध्यक्ष माइला बलले रतनपुरी सब–डिभिजन वन कार्यालय, बारामा उजुरी दिनुभएको थियो।

लालगाउँका अन्य केही स्थानीयले पनि जमिन अतिक्रमणको विरोध गर्दै आएका छन्। वन कार्यालयले अतिक्रमित जमिनको छानविन शुरु नगर्दै लोप्चनले समितिसँग कुलो र स्थानीयको सन्दीसर्पणका लागि ६ मिटर चौडाइको बाटो दिने सहमति गरेपछि स्थानीय रुपमा घटनालाई सामसुम बनाउने प्रयास भएको छ।

वडा अध्यक्ष पद्मबहादुर लोप्चनसमेत बसेर गरिएको सहमतिको छायाप्रति वन कार्यालयमा समेत बुझाइएको छ। लोप्चनले मकवानपुरस्थित साविक हटिया गाविस हाल बकैया गाउँपालिका ६ मा रहेको भनिएको कि नं. १५२९ र १५३० को जग्गाको दक्षिणतर्फको वन क्षेत्रको जग्गामा लाखौं रुपियाँ खर्च गरेर पर्खाल बनाएका हुन्।

‘चुरे डाँडामुनि फेदीमा बुट्यानले भरिएको सम्म परेको जमिन छ, एक स्थानीयले भने, करोडौं रुपियाँ आउने भएपछि लोभमा परेर अतिक्रमण गरिएको छ।’ फास्टट्रयाक निर्माण हुन थालेपछि यस क्षेत्रमा जग्गाको मूल्य बढेको र ऐलानी, पर्ति र वन क्षेत्रमा आवादी गरिएको जग्गाको समेत मूल्य धेरै बढेको उनले सुनाए।

अर्का एक स्थानीय भने भू–माफियाहरूले लोप्चनलाई प्रभावमा पारेर जमिन अतिक्रमण गर्न लगाएको हुनसक्ने बताउँछन्। शुरुमा लोप्चनलाई वन क्षेत्रको जमिन घेराबारा गर्न लगाउने र आवादी भइसकेपछि आफूले नै खरिद गर्ने उद्देश्यमा बारा र मकवानपुरका केही व्यवसायीले योजनाबद्ध रुपमा जमिन अतिक्रमण गराएको उनी बताउँछन्।

‘चुरे डाँडामा फेदीको हेर्दै जमिन राम्रो छ, उनले भने, फास्टट्रयाक बनेपछि ठूला होटल र रिसोर्ट खोल्ने योजना हुुनुपर्छ।’ लोप्चन गरिब किसान परिवारको सामान्य मान्छे भएको र त्यतिधेरै रकम खर्च गरेर वन क्षेत्रमा पर्खाल लगाउने हंैसियत पनि नदेखिएकाले अतिक्रमणमा माफियाको हात हुनसक्ने उनको भनाइ छ।

लोप्चनले भने उक्त जमिनमध्ये केही आफ्नो नम्बरी जग्गाको नक्साभित्र परेको र बाँकी भाग ऐलानी भए पनि स्थानीय अर्को मान्छेसँग पहिले नै खरिद गरेर लिएको हुनाले हाल सुरक्षाका लागि घेराबारा गरेको बताएका छन्।

यस अघि पनि लोप्चनले चुरे पहाडमा रहेको खेतबारी सम्याउने नाममा ढुंगा उत्खनन् गरी क्रसर उद्योग र स्थानीय ढुंगाका व्यापारीलाई बिक्री गरेका थिए।

आइइ प्रतिवेदनबिना नै चुरे पहाडको पर्यावरण र छिमेकी जिल्ला बाराको निजगढ नगरपालिका १० लाल गाउँका बासिन्दालाई असर गर्ने गरी भएको उत्खनन्को व्यापक विरोध भएपछि बकैया गाउँपालिकाले रोक लगाएको थियो।

गाउँपालिकाले लोप्चनलाई जग्गा सम्याउन मात्रै अनुमति दिएकोमा पर्यावरणलाई नास गरी उत्खनन् र बिक्रीसमेत भएको पाइएपछि रोक लगाएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो।

निजगढ नगरपालिका १० का अध्यक्ष लोप्चनले भने वन कार्यालयले समेत छानविन थालेको जग्गा विवाद बारे आफूले केही बताउन नसक्ने बताउनुभयो।

डिभिजन वन कार्यालय सिमराका प्रमु्ख मञ्जुर अहमदले वन क्षेत्रको जमिन अतिक्रमण भएको विषयमा कार्यालयमा उजुरी आएको र सोको छानविन गर्न निजगढ नगरपालिकालाई अमिन उपलब्ध गराई दिन पत्राचार गरिसकेको जानकारी दिनुभयो।

उहाँले उजुरी परेको अवस्थामा स्थानीयबीच भएको भनिएको सहमतिले छानबिन कार्य नरोकिने जानकारी पनि दिनुभयो।

प्रतिक्रिया दिनुहोस्