रोल्वालिङ पदमार्गमा पर्यटकको संख्या वृद्धि



चिरञ्जीवी मास्के, दोलखा। 

रोल्वालिङ क्षेत्र दोलखाको महत्वपूर्ण पदमार्ग हो। गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने दोलखाको गौरीशङ्कर गाउँपालिकाभित्रको रोल्वालिङ पदमार्गमा वर्षको दुई सिजन विभिन्न हिमालको आरोहण र च्छोरोल्पा हिमतालको भ्रमणका लागि आन्तरिक एवं बाह्रय पर्यटक पुग्ने गरेका छन्।

विगतमा थोरै मात्र पर्यटक रोल्वालिङ पदमार्गमा पुग्ने गरेकोमा अहिले वर्षको दुई सिजनमा झण्डै पाँच सय पर्यटक पुग्ने गरेको ठाङदिङका होटल व्यवसायी रिकु शेर्पा बताउनुहुन्छ।

रोल्वालिङ पदमार्गमा हरेक वर्षको असोज, कात्तिक, मंसिर र चैत्र, वैशाख, जेठमा च्छो रोल्पा हिमतालको भ्रमण तथा ५६३० मिटरको यलुङ री, ५९२५ मिटरको रम्दुङ, ६ हजार मिटरमाथिको फर्छेमलगायतको हिमाल आरोहणका लागि पाँच सय पर्यटक पुग्ने गरेको अर्को होटल व्यवसायी बोलेन्द्र आचार्य बताउनुहुन्छ।

रोल्वालिङ पदमार्ग विगु गाउँपालिकाको जगत्बाट शुरु हुन्छ।जगत हुँदै गौरीशङ्कर गाउँपालिकाको सिमिगाँउ, सुरमुचे, क्याल्चे, डोङखाङ, ठाङ्दीङमा, बेदीङ, ना गाउँतर्फ अघि बढ्ने रोल्वालिङ पदमार्गले एकातिर आरोहणका लागि विभिन्न हिमाल भएको ठाउँ लैजान्छ भने अर्कोतिर च्छो रोल्पा हिमताल, दुधकुण्ड भएको ठाउँमा लैजान्छ।

सिमिगाँउबाट चाँडो गर्दा तीन दिनमा च्छो रोल्पा पुगिने स्थानीय होटल व्यवसायी एवं हिमाल आरोही फुर्वाठिले शेर्पा बताउनुहुन्छ। सिमिगाँउबाट च्छो रोल्पासम्म २२ वटा होटलहरू रहेको होटल व्यवसायी बोलेन्द्र बताउनुहुन्छ।

गौरीशङ्कर संरक्षण क्षेत्रले पर्यटकहरूलाई थप आकर्षित गर्न र भ्रमण वर्ष २०२० मा अधिक पर्यटक भित्र्याउने उद्देश्यले रोल्वालिङ पदमार्गमा रहेका २२ वटा होटलका सञ्चालहरूलाई पर्यटन व्यवस्थापनका लागि कुक, आतिथ्य सत्कार तालिम सञ्चालनसँगै मेनुवितरणसमेत गरिएको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताउनुभयो।
रोल्वालिङ पदमार्गमा हिम चितुवा, रेड पाण्डा, हिमाली कुखुरा, डाँफे, मुनालजस्ता दुर्लभ वन्यजन्तु तथा पशुपंक्षीहरूसमेत रहेकाले होटल व्यवसायीहरूले त्यसको प्रवद्र्धनका लागि समेत सहयोग गर्नुपर्ने संरक्षण प्रमुख शाह बताउनुहुन्छ।

व्यवस्थापन तालिमका सहभागी होटल व्यवसायीहरूले रोल्वालिङ पदमार्गमा विद्युत् सेवा विस्तार गर्नुपर्ने, पर्यटकहरूको तथ्याङ्क राख्नु पर्ने, पदमार्गमा होडिङ बोर्ड राख्नुपर्ने, चेकपोस्ट राख्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्