प्याब्सनले भोलिबाट दुई दिने राष्ट्रिय सम्मेलन गर्ने



नेपाल समाचारपत्र, काठमाडौं।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले विद्यालय शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

यही माघ ९ र १० गते राजधानीमा आयोजना हुने सम्मेलनमा नेपालमा शैक्षिक संस्थाहरूले संस्थागत तथा शैक्षिक जनशक्ति उत्पादनका क्षेत्रमा गुणस्तरीय व्यवस्थापन, व्यावसायिक विकास तथा शैक्षिक उत्पादनमा गुणस्तर शिक्षा कायम गर्ने विषयमा छलफल हुने भएको छ।

प्याब्सनले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टीकाराम पुरीले सम्मेलनमा देशको समग्र शिक्षाको विषयमा छलफल हुने जानकारी दिनुभयो। उहाँले विश्वमा कुन मुलुकले कस्तो किसिमको शिक्षा दिएको छ , नेपालमा कस्तो शिक्षाको अपरिहार्यता छ भन्ने विषयमा छलफल हुने बताउनुभयो।

पहिलोपटक आयोजना गर्न लागेको सम्मेलनमा नेपाल लगायत क्यानडा, भारत, फिनल्यान्ड, बेलायत लगायत विश्वका विभिन्न मुलुकको शिक्षा पद्धतीको बारेमा कार्यक्रम प्रस्तुत हुनेछ।

सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, एन प्याब्सन, अध्येता, अनुसन्धानकर्ता, निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल, सामुदायिक विद्यालयका प्रअ, शिक्षक तथा नीतिमा काम गर्ने विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहने समेलनमा विश्वका विभिन्न देशले अपनाएका शैक्षिक मुद्दा र विषयको बारेमा छलफल हुनेछ।

स्वदेशी र विदेशी गरी करिब ३ सयको सहभागिता रहने सम्मेलनमा स्वामी आनन्द अरुणले आध्यात्मिक मुल्य मान्यताको बारेमा प्रवचन दिनुहुने भएको छ।

त्यसैगरी प्राडा बालकृष्ण लुइटेलले सिस्टम एजुकेशन, डा. सुशील कडेलले विद्यालयमा मनोविज्ञान, डा. मेदिनी लामिछाने, डा.विष्णुराज कार्की, हेमन्त दाहाल, वारवारा वटरअर्थ, सुशील उप्रेती, डा.रबर्टसन, डा. लक्ष्मण ज्ञवाली, डा. हरि लम्साल, पवित्रा लिम्बू र नरबहादुर कार्कीलगायतले विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गर्नुहुने अध्यक्ष पुरीले जानकारी दिनुभयो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वय र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनको प्राविधिक सहयोग रहने सम्मेलनको सहआयोजक करियर ट्रेडिङ फाउन्डेशन(सिटिएफ) रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयले गरेको पछिल्लो गतिविधिको बारेमा जानकारी दिनहुने कार्यक्रम रहेको छ।

सिङ्गो विद्यालय शिक्षामा सरोकार राख्ने सबै तहका व्यक्तिलाई आमन्त्रण गरिएको सम्मेलनमा विशेष गरी नेपालमा प्राविधिक शिक्षा र प्रविधिको बारेमा गहन विश्लेषण हुने अध्यक्ष पुरीले जानकारी दिनुभयो।

सम्मेलनमा सातै प्रदेशका शिक्षक महासंघका प्रतिनिधि, सरकारी विद्यालयका विद्यार्थीको समेत सहभागिता रहनेछ। सम्मेलनमा उठेका विषयलाई अब बन्ने शिक्षा ऐनमा समावेश गर्न सहयोग पुग्ने समेत आयोजकले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्