दोस्रो नगरकोट महोत्सवको तयारी पूरा



भक्तपुर, (नेस)।

‘प्राकृतिक सम्पदा, कला, संस्कृति र पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ हुन थालेको दोस्रो नगरकोट महोत्सवको तयारी पूरा भएको छ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिले यहीँ माघ १०, ११ र १२ गते नगरकोटको बतासे डाँडामा गर्न लागेको दोस्रो नगरकोट महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो।पर्यटन वर्ष २०२० लाई सफल बनाउन हुन लागेको दोस्रो नगरकोट महोत्सवको सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्ने कुरा आयोजकले जनाएको छ।

पर्यटकीय स्थल नगरकोटमा पर्यटन वर्ष २०२० मा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा रु. ४६ लाख खर्च हुने समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो।

महोत्सवमा स्थानीय विभिन्न खानाका परिकारहरू, स्थानीय कृषि उत्पादनहरू, स्थानीय, कला–संस्कृति एवं पर्यटन प्रबद्र्धन सम्बन्धी स्टलहरू रहने भएका छन्।

महोत्सवमा ख्यातिप्राप्त करिब १३ जना गायकगायिका, चर्चित कलाकारहरूको सांगीतिक एवं हास्यव्यंग्यात्मक प्रस्तुतिहरू रहनेछन् भने स्थानीय मौलिक कला झल्किने विभिन्न प्रस्तुतिहरू रहने र लोपोन्मुख बाजागाजाहरू प्रदर्शन गरिने छन्।

प्रतिक्रिया दिनुहोस्