सवारी चलाउँदा विचार पुर्याउनुस् न है



आफ्नै आँखाअगाडि कुनै सवारी दुर्घटना भएको देख्नुभएको छ ? छ भने तपाईंलाई थाहा हुनुपर्छ कि सवारी दुर्घटना फगत एक समाचार मात्रै हैन भनेर।

किनकि दुर्घटनाले एउटी आमाको काख शून्य बन्न पुग्छ, एउटा दुधे बालकले आफ्नी आमा गुमाउन पुग्छ, अनि अर्को गर्भमै रहेको बालक टुहुरो बन्न पुग्छ। झ्वाट्ट सुन्दा सामान्य लागे पनि गहिरो घाउ दिने हुन्छन् कैयौँ यस्ता सडक दुर्घटना। यस्ता सडक दुर्घटना हिजोआज हाम्रा दैनिकी बनेका छन्।

पछिल्लो समयकै सडक दुर्घटना हेर्ने हो भने कार्तिक १७ गतेको सिन्धुपाल्चोक, सुकुटे दुर्घटना, जहाँ चाडपर्व मानेर फर्किएका १९ जनाले ज्यान गुमाउनुपर्यो।

पढेर ठूलो मान्छे बन्ने सपना बुन्दै बनाएका विद्यार्थीका नोट सुनकोशीमै बिलायो, काँधमा जिम्मेवारी लिएर शहर फर्किंदै गरेका काँधहरू सुनकोशीमा समाहित भए, कोसेलीहरू कोशीकै किनारमा असरल्ल परे, ज्यान गुमाएकाहरू रगतका छिटा छोडेर गए।

त्यति निष्ठुरी बनेर १९ जनालाई निलेको सुकुटेले दिएको घाउ आलै थियो, फेरि सिन्धुपाल्चोककै ६ किलोमा अर्को दुर्घटनाले फणा उठाएर बसेको रहेछ र घर्लप्प छोपिदियो १६ जनाको मृतशरीर। परिवार र साथीसँग कालिञ्चोकको हिउँ खेल्दै बटुलेका मीठा यादहरू बोकेर फर्किंदै गर्दा बाटोमै त्यो याद नमीठो बनिदियो।

गाउँ नै शोकाकूल बनायो। आफ्नी आमाको न्यानो छातीमा टाँसिएर लुटुपुटु गरिरहेकी ६ महिने अबोध शिशु त्यति ठूलो दुर्घटनामा सकुशल रहिन्, तर उनकी आमा अब कहिल्यै नउठ्ने भइन्। म उनलाई भाग्यमानी या अभागीको संज्ञा दिन सक्दिन।

भौगोलिक विकटताले भरिपूर्ण हाम्रो देशका अधिकांश सडकले उस्तै दुर्दशा भोगिरहेका छन्। देशको ग्रामीण सडक मात्रै हैन राजधानीकै पनि सडकको हालत उस्तै छ।

त्यसमाथि सवारीचालक र हामीजस्ता पैदल यात्रीहरूको लापरबाही, चालकहरूमा प्रतिस्पर्धाको भावना, पुराना सवारीसाधन, सडक सुरक्षा र अनुशासनको बेवास्ता, फुटपाथमा खुट्टा राख्ने ठाउँ छैन। सडकछेउमा बनेका ठूला भवनको अतिक्रमणमा परिसकेका छन् सडकपेटी। यिनै त हुन् सम्भाव्य सडक दुर्घटनाका कारक तत्वहरू।

कहिलेकाहीँ त लाग्छ, हामी सबै मिलेर सडक दुर्घटना बढाउने तयारी गरिरहेका छौँ। मैले सधैँ बिहान–बेलुका नेपाल यातायातको यात्रा गर्नुपर्छ।

खै कुन्नि के चिजको होडबाजी चल्छ नेपाल यातायातको व्यवसायमा, सधैँको तँछाडमछाड हुन्छ। अर्को सवारीमाथि चढेर अगाडि जाऊँलाझैँ गर्नुहुन्छ चालकज्यूहरू। र, घरबाट निस्किएदेखि घर नपुग्दासम्म समाचारमा आउने यस्तै दुर्घटनाका दृश्यहरूले मनमा अड्डा जमाउँछन्।

कहिले नेपालगन्जमा विद्यालय जाँदै गरेकी छात्रालाई सवारीले ठक्कर दिन्छ त कहिले चाबहिलमा अर्की छात्रालाई। शहर अस्तव्यस्त बनाउने यस्ता दुर्घटनाबाहेक पनि अन्य थुप्रै छन्। बेतुकसँग दुईपाङ्ग्रे हाँकेर दुर्घटना निम्त्याउनेको पनि कमी छैन यो बढ्दो सवारी चाप भएको शहरमा।

झट्ट सुन्दा सामान्य लागे पनि सडक दुर्घटना र मानवक्षतिको तथ्यांक हेर्ने हो भने कहाली लाग्दो देखिन्छ। सरकारले पहल गरिरहेकै छ तर पनि दुर्घटना घट्नुको अलावा बढी नै रहेको छ। गाडीको स्टेरिङअगाडि बस्न डराउनेसँग ठूला सवारीचालक अनुमतिपत्र हुन्छन्। सडकमा राखिएका ट्राफिक चिह्न नचिन्ने पनि सवारीचालक छन्।

हुन त सबै दुर्घटनाको कारण सवारीचालक अवश्य हुँदैनन्। जीर्ण अवस्थाका सडक, पुराना सवारीसाधन, पर्याप्त सवारीसाधन नहुँदा क्षमताभन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता यी सबै कारण हुन सक्छन्।
|
सरकारले कागजमा गरेका प्रयास व्यव्हारमा देखिन नसक्दा दिनहुँ दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ, घटेको छैन। यी सबै कारणका बाबजुद पनि सवारी दुर्घटनामा कहीँबाट चालक नै जोडिन आउँछ। अब सवारीचालकले क्षमताभन्दा बढी बोक्दिन भन्ने बेला भयो।

समयमा हिँड्छु भन्नुपर्यो। मादकपदार्थ सेवन गरेर सवारी चलाउँदिन भन्नुपर्यो। आदरणीय चालकज्यूहरू, तपाईंहरूलाई मेरो विनम्र अनुरोध यो छ कि, कृपया सवारी चलाउँदा अलिकति विचार पुर्याउनुस् न है।

तपाईं एकजनाको सानो हेल्चेक्र्याइँले आफूसँगै कति जनाको जिन्दगी बर्बाद हुन्छ, तहसनहस हुन्छ, कति भयानक स्थिति सृजना हुन्छ, सोच्नुस् त।

– सिन्धु मल्ल, बनेपा, काभ्रे।

प्रतिक्रिया दिनुहोस्