आधारबिनाको विद्रोह



नेपालले सशस्त्र विद्रोहका नाममा दिनदिनै ठूलो परिमाणमा नेपाली नागरिकको आहुती दिएको लामो समय भएको छैन । १२ वर्षअघिसम्म पनि राज्य पक्ष र माओवादी विद्रोही पक्षका नाममा विभाजित नेपाली नागरिक निर्मम प्रहारको शिकार भएका थिए ।

अकाल मृत्युको त्रासमा पूर्णविराम मात्र लागे कत्रो उपलब्धि हुन्थ्यो भन्ने अभिलाषा थियो त्यस बेला । ती दिनलाई सम्झेर झस्किने र सपनामा समेत तर्सिने नेपालीहरूका बीच नेकपा विप्लव समूह फेरि तत्कालीन माओवादीकै शैलीमा उत्रिएको छ । यो आफैंमा गम्भीर विषय बनेको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने सरकारको चाहनामाथि प्रतिबन्धित नेकपा विप्लव समूहले धावा बोल्दै राजधानीमा नै बम विस्फोट गराएपछि सरकारले राजधानीको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

केही दिनअघि विवादास्पद ललिता निवास प्रकरणका मुख्य योजनाकार डा. शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएर विप्लव समूहले जिम्मा लिएपछि सरकारले राजधानीको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको हो ।

हात–हतियारसहित राजधानी प्रवेश गरेको विप्लव समूहको आक्रमणबाट राजधानीलाई बचाउन सुरक्षा निकायले अहिले आफ्ना सबै युनिटलाई हाई अलर्टमा रहन निर्देशन दिएको समाचार सार्वजनिक भएको छ ।

समाजमा आतंक मच्चाएर आफ्नो स्वार्थ पूरा गर्ने समूह सक्रिय भइरहेका बेला विप्लव समूहको पछिल्लो गतिविधि चिन्ताको विषय बन्न पुगेको छ । उसले मूलधारको राजनीतिबाट टाढा रहेर हत्या र हिंसाको बाटोमा लाग्नु नै गलत भएको भन्दै सर्वसाधारणले समेत सो समूहको आलोचना गर्दै आएका छन् ।

समाज परिवर्तन हतियार उठाएर मात्र पूरा हुन्छ भन्ने विप्लव समूहको मान्यतालाई स्वीकार गर्न सकिँदैन । १२ वर्षअघि मूलधारको राजनीतिमा आएको नेकपा माओवादीलाई समेत चुनौती दिने विप्लव समूहले शुरू गरेको हिंसात्मक आन्दोलनले विगतमा माओवादी विद्रोहीले पाएको सफलता पाउने आधार आज देखिँदैन ।

सशस्त्र विद्रोहबाट सत्ता प्राप्ति हुँदै नहुने होइन, तर त्यसका लागि उपयुक्त आधार र तर्क आवश्यक पर्छ । नेपालमा आज संघीय लोकतान्त्रिक बहुदलीय व्यवस्था छ, विश्वमा रहेका नवीनतम राज्य व्यवस्थाको अभ्यास हामीकहाँ भइरहेको छ । यस्तो बेला हतियार उठाउने कि इमानदारीको राजनीतिका लागि मूलधारमा आउने ?

के भ्रष्टाचार र कमिसन मात्र समाधान हुन बाँकी रहेका समस्या होइनन् ? त्यसैले हतियारको दम्भ छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु विप्लवका लागि उत्तम देखिन्छ । सरकारले अहिले विप्वलमाथि गरेको दमनलाई पनि उचित मान्न सकिँदैन ।
सरकार र विप्लवबीच शान्ति वार्ता गरेर मुलुकको विकासमा लाग्नु नै अहिलेको उत्तम विकल्प हो । दुवै पक्ष उत्तेजक हुनुले मुलुकका लागि कदापि फाइदा गर्दैन त्यसले विनाशमात्र निम्त्याउँछ ।

विप्लवविरुद्ध अहिले नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र उपत्यकाभर रहेका प्रहरी कार्यालयले नेता तथा कार्यकर्ताको खोजीलाई तीव्र बनाउनुले मुलुक फेरि भिडन्ततर्फ उन्मुख हुन खोजेको भान हुन थालेको छ । त्यसैले विद्रोही तथा राज्य पक्षले हठ त्यागेर अगाडि बढ्नु श्रेयस्कर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्