युवालाई स्वदेशमै बस्ने वातावरण मिलाऊ



वर्तमान अवस्थामा सामाजिक सुरक्षा कार्ययोजना उत्साहजनक बन्न सकेको छैन। सरकारले गर्ने निर्णय, कार्यान्वयन पक्षले दिने ध्यान र सहभागी हुने पक्षको तत्परतालगायतका विषयका कारण यस्तो हुन पुगेको बुझिएको छ।

सरकारले निर्णय गर्ने तर त्यसको कार्यान्वयन नहुने भएका कारण लोकप्रिय निर्णयहरू हुँदासमेत आमसर्वसधारणको तहमा उत्साह कम देखिने गरेको छ।

मुलुकका दक्ष, अदक्ष र अर्धदक्ष गरी अझै पनि करिब ४० लाख युवा वैदेशिक रोजगारीमा छन्। खाडी मुलुकमा मात्रै आधाभन्दा बढी युवाहरूले श्रम बेच्दै छन्।

त्यस्तै ठूला अर्थतन्त्र भएका विश्वका अन्य देशहरू र भारतमा समेत ठूलो संख्यामा नेपाली कामदारले पसिना बेच्दै छन्। देशमा मजदुरको पक्षमा भएका निर्णयमा भन्दा नेपालीको लागि विदेशका सरकारले गर्ने निर्णयमा निकै चासो र चिन्ता हुने गरेको छ।

बेरोजगारीको चरम सीमामा पुगेका नेपालीले सबैभन्दा धेरै चासो विदेशीले रोजगारदाता बन्नको लागि गरेको निर्णयमा दिने गरेका छन्। केही समयपहिला मलेसिया सरकारले बढाएको कामदारको तलब र नेपाल सरकारसँग त्यहाँको सरकारले गरेको श्रम सम्झौताको विषयमा आमसर्वसाधारणमा सबैभन्दा ठूलो चासो थियो।

यसै हप्ता मात्रै जापान सरकारले नेपालसहितका विभिन्न देशबाट विदेशी कामदार लैजाने गरी निर्णय गरेको छ। जापान सरकारको निर्णयले नेपाल र नेपालीमा नेपाल सरकारले गरेको निर्णयले भन्दा धेरै प्रभाव पारेको देखिन्छ।

चोक–चोकमा जापान सरकारको निर्णयको पक्ष र विपक्षमा मतभेदहरू शुरू भएका छन्। विदेशी कामदार लैजाने निर्णय गरेको जापान सरकारका कारण कतिपय नेपालीमा रोजगारी पाउने आशा पलाएको देखिन्छ।

विदेशका सरकारले गरेको निर्णयमा भन्दा आफ्नो सरकारले गरेको निर्णयमा देशवासीको चासो र चिन्ता हुनुपर्ने हो तर पछिल्लो समय नेपाल र नेपालीमा त्यसको ठीक विपरीत खालको परिदृश्य देखिन थालेको छ।

देशको लागि आवश्यक युवा जनशक्तिमा पलाएको विदेश मोहले मुलुकले समृद्धिको बाटो पक्कै पनि तयार गर्न सक्दैन। सरकारले युवाहरूलाई स्वेदशमा नै बस्न सक्ने गरी वातावरण तयार गर्नुपर्ने हुन्छ।

– नितेश दाहाल, रौतहट।

प्रतिक्रिया दिनुहोस्