भाडाको कोख कथामा माइकल अधिकारी बन्दै



माइकल अधिकारी नामक फिल्मको छायांकन शुरू भएको छ। फिल्मको झापाको विर्तामोडबाट छायांकन शुरू गरिएको हो।भाडाको कोख अर्थात् सरोगेसीको कथामा निर्माणाधीन फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहनेछ।

सौगात र सृष्टिसँगै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समूह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ।

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माणाधीन फिल्म रञ्जित रौनियारले निर्देशन गरिरहेका छन्। उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता निरक पौडेल हुन्।

फिल्ममा राजुविक्रम थापाको छायांकन, निर्देशक रञ्जितकै कथा, शैलेश कँडेल क्षत्रीको पटकथा र संवाद, शम्भुजित बासकोटा र नीलेश सिंहको संगीत तथा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।

निर्माण समूहका अनुसार फिल्मको सम्पूर्ण छायांकन विर्तामोड र इलाममा गरिनेछ। निर्माण टिमले ३५ दिनको छायांकन सेड्युल तयार पारेको छ। फिल्म कमेडी जनरामा बन्नेछ।

फिल्ममा आफू अहिलेसम्मकै भिन्न अवतारमा देखिने अभिनेता सौगात मल्लले दाबी गरे। नेपाल सुन्दरी तथा नायिका सृष्टि श्रेष्ठले यो फिल्मबाट आफूले काम देखाउने अवसर पाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्