गणितलाई उपेक्षा



विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई उपेक्षा गरिँदै आएको पाइएको छ। कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारूप छलफल विगत दुई वर्षदेखि हुँदै आए पनि गणितलाई उपेक्षा गरिएको पाइएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार गर्दै आएको प्रारूप र पाठ्यक्रममा विवाद पेचिलो बन्दै गएको छ।

प्रतियोगिक गणित अनिवार्य गर्न प्रारूपको मस्यौदा गराउन भनिए पनि पाठ्यक्रम विकास केन्द्रले गणित विषय रोज्न चाहे पनि रोज्न नमिल्ने गरी प्रारूप तयार गरेको म्याथमेटिकल सोसाइटी नेपालले जनाएको छ।

हाल सञ्चालनमा रहेको प्रारूपमा विज्ञान विधाका विद्यार्थीले कक्षा ११ मा अंग्रेजी अनिवार्य र चारवटा ऐच्छिक विषय गरी जम्मा पाँच विषय र १२ कक्षामा अंग्रेजी र नेपाली अनिवार्य तथा तीनवटा ऐच्छिक गरी पाँच विषय अध्ययन गर्छन्।

नेपाल गणित समाजका अनुसार हाल देशभर ७० हजार बढी विद्यार्र्थीले विभिन्न संकायबाट गणित अध्ययन गर्दै आएका छन्।समाजका अनुसार प्रारूपमा विज्ञान संकायका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चार ऐच्छिक गरी पाँच विषय अध्ययन गर्दै आएका छन्।

यस्तै, १२ कक्षामा अंग्रेजी, अनिवार्य नेपाली र तीन ऐच्छिक गरी पाँच विषय पढ्दै आएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय समावेश नगरिएकोमा विज्ञहरूले विरोध गर्दै आएका छन्।

हाल केन्द्रले बनाएको प्रारूप लागू भए ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र तीन ऐच्छिक गरी ६ विषय पठनपाठन हुने गणित शिक्षक समाजले जनाएको छ। यस्तै, १२ कक्षामा अंग्रेजी, नेपाली, जीवनोपयोगी र तीन ऐच्छिक गरी ६ विषय अध्यापन गराइने बताइएको छ।

त्रिभुवन विश्वविद्यालय, गणित केन्द्रीय विभागका प्रमुख प्राडा टंकनाथ धमला विज्ञान पढ्ने विद्यार्थीका लागि गणित अपरीहार्य रहेको बताउनुहुन्छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का निम्ति तयार पारेको भनिएको नयाँ पाठ्यक्रमको प्रारूपका बारेमा विगत दुई वर्ष अगाडिदेखि विवाद भइरहेको छ।

यसै सन्दर्भमा नेपाल गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापकसमेत रहेका डा. जीवन काफ्लेसँग गरिएको कुराकानी ः

नयाँ पाठ्यक्रमको प्रारूपमा गणित विषयमा भइरहेको विवाद के हो ?

दुई वर्ष अगाडिदेखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का निम्ति तयार पारेको भनिएको नयाँ पाठ्यक्रमको प्रारूपका विवाद हुन गम्भीर कारण रहेका छन्। वास्तवमा गणित विषयमा भइरहेको विवाद झनै पेचिलो बनेको छ।

विशेषतः प्रस्तावित पाठ्यक्रमले ६–६ वटा विषयलाई समावेश गर्दा पनि भौतिक समृद्धिको आधार स्तम्भलाई पूर्णतः उपेक्षा गर्नु नै पाठ्यक्रमका बारेमा विवाद उठ्नुको मुख्य कारण हो।

यसमा उज्ज्वल भविष्यको सपना देख्ने विद्यार्थी, अभिभावक, शिक्षक र समृद्ध नेपालको परिकल्पना गर्ने वर्ग समयमै सजग हुनु जरुरी छ।

अध्ययन भइरहेको विज्ञान विषयमा भएको गणीत हटाउँदा विज्ञान कस्तो हुन्छ ?

गणित यस्तो विषय हो जुन सबै प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग गर्नुपर्ने हुन्छ। तर, स्कुल तहमा गणित विषयको पृष्ठभूमि नहुने हो भने सबै विषयको ज्ञान अपूर्ण हुन्छ।

यो विषयको जगबिना अन्य कुनै पनि विषयमा दक्षता हासिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नु मात्र हो।

कक्षा ११ र १२ को प्रस्तावित पाठ्यक्रमको प्रारूपका गणितमाथि नीति–निर्माताहरूको लगातार आक्रमण भइरहेको हो र ?

प्रस्तावित पाठ्यक्रमअनुसार जीव विज्ञान, रसायन शास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन पाउँदैनन्।

प्रस्तावित पाठ्यक्रमअनुसार म्यानेजमेन्ट पढ्ने विद्यार्थी चाहँदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि वञ्चित हुने देखिन्छ।

वास्तवमा गणित विषयले विद्यार्थीमा हरेक विषयका बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन–विश्लेषण र मूल्यांकन गर्ने क्षमताको विकास गराउँछ नै विद्यार्थीलाई खोज अनुसन्धान गने सामथ्र्यको पनि विकास गराउँछ। तसर्थ गणित विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो।

गणित किन पढ्ने ?

विदेश अध्ययन गर्नका लागि एप्टिच्युट टेस्ट जस्तै जीआरई, स्याट, जिम्याटहरूमा पनि अत्यधिकरूपमा गणितका प्रश्न समावेश गरिएका हुन्छन्।

यदि गणितजस्तो विषयलाई हटाउने हो भने उपर्युल्लिखित अवसरबाट हाम्रा विद्यार्थी सधैं असफलताको शिकार हुनुपर्ने अवस्था सिर्जना हुन्छ।

हालसालै त्रिविको इन्जिनियरिङ अध्ययन सस्ंथानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० अंक बनाइएको छ। यसले गणितको महत्व इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई कति महत्वूर्ण र अत्यावश्यक छ भन्ने कुरा स्वतः प्रमाणित गर्छ।

गणितीय ज्ञानबिनाका विज्ञानका विद्यार्थीले विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न के कठिनाइ भोग्नुपर्छ ?

यसबाट विश्वविद्यालयस्तरीय पढाइका लागि धेरैजसो ढोका बन्द हुने अवस्था सिर्जना गरिँदै छ। भविष्यमा विश्वविद्यालयहरूले गणित विषय पढेको हुनुपर्ने प्रावधानलाई हटाएर सहजीकरण गर्लान् तर इन्जिनियरिङ, वनविज्ञान, कृषि तथा सूचना प्रविधिको अध्ययन अध्यापन गुणस्तरीय हुन्छ ?

अन्तर्राष्ट्रिय जगत्मा हाम्रो उत्पादन प्रतिस्पर्धी हुन्छ ? हाम्रा उत्पादनलाई विश्व जगत्ले मान्यता दिन्छ ? कि फेरि विद्यार्थीले पुनः बृजकोर्स पढ्नुपर्ने ?

यसरी विश्वविद्यालयस्तरीय अध्ययनका लागि बनाइएका अनिवार्य सर्त तथा गुणस्तरीय पढाइको पक्षलाई पूर्णतः बेवास्ता गरी हचुवाका भरमा पाठ्यक्रम बनाई विद्यार्थीको भविष्यप्रति खेलवाड गरेको देखिन्छ।

त्रिविमा इन्जिनियरिङ पढ्न कक्षा ११ र १२ मा २ सय पूर्णांक बराबरको गणित विषय पढ्नु अनिवार्य छ। पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले कक्षा ११ मा १०० पूर्णांकको भए पनि गणित पढेर इन्जिनियरिङमा प्रवेश पाउने सुविधा उपभोग गरिरहेका छन्।

अहिले प्रस्तावित पाठ्यक्रमलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थी इन्जिनियरिङ पढ्ने अवसरबाट पनि वञ्चित हुने दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुनेछ। त्यस्तै वनविज्ञान, कृषि विज्ञान, विम्याथएससीजस्ता विषय पढ्न पनि कक्षा ११ वा १२ मा सय पूर्णांकको गणित र जीव तथा वनस्पति विज्ञान विषय पढेको हुनैपर्छ।

तर, अब लागू गर्न खोजिएकोे पाठ्यक्रमअनुसार भौतिक विज्ञान समूहले जीव तथा वनस्पति विज्ञान पढ्न नपाउने र जीव तथा वनस्पति विज्ञान समूहले गणित पढ्न नपाउने अवस्था छ। हालसम्मको व्यवस्थाअनुसार भविष्यमा सीए, बीबीए र आईटी पढ्छु भन्ने विद्यार्थीले गणित र व्यावसायिक गणित विषय पढ्न पाउँथे।

तर, प्रस्तावित पाठ्यक्रमअनुसार म्यानेजमेन्ट पढ्ने विद्यार्थी चाहँदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि वञ्चित हुने देखिन्छ। यसले जग कमजोर भई विद्यार्थी सीए, बीबीए, बीसीए र आईटी पढ्न अवसरबाट वञ्चित हुने स्थिति आउँदै छ।

समस्याको निकास के ?

अहिलेको ११ र १२ को प्रारूपको ड्राफ्टमा गर्नुपर्ने परिवर्तन, १. पहिलो विकल्प ः अनिवार्य विषय कम्तीमा एउटा घटाएर कम्तीमा एउटा ऐच्छिक विषय थपेर चारवटा बनाउने।

२. दोस्रो विकल्प ः सामाजिक अध्ययन र जीवन उपयोगीको सट्टामा विद्यार्थीले चाहेमा गणित विषय रोज्न पाउने। यी दुई विकल्पमध्ये पहिलो विकल्प उत्तम विकल्प हो। पहिलो विकल्पमा जानै नसक्ने हो भने दोस्रो विकल्प पनि उपयोगी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्