मेलमिलापकर्तालाई अभिमुखीकरण



लमजुङ, (नेस)।

लमजुङका मेलमिलापकर्तालाई मेलमिलापसम्बन्धी अभिमुखीकरण गराइएको छ। न्यायिक निकायमा आएका समस्यालाई मेलमिलापको माध्यमबाट समाधान गर्न र मेलमिलापलाई प्रभावकारी बनाउन अभिमुखीकरण गराइएको हो।

मेलमिलाप परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले स्थानीय तहको न्यायिक समितिलाई न्यायिक अधिकार भएकाले त्यसलाई प्रभावकारी बनाउनुपर्ने र मेलमिलापको माध्यमबाट नागरिकलाई सहजरूपमा जीवनयापन गराउन सक्नुपर्ने बताउनुभयो।

कानुनले तोकेका विषयमा मेलमिलापन गर्न सकिने भए पनि कुनै मेलमिलाप गरिसकेपछि समस्या आउने भएकाले संवेदनशील भएर मात्र मेलमिलाप गर्नुपर्ने बताउनुभयो।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले मेलमिलापसम्बन्धी अवधारणा, विकास र नेपालमा यसको प्रयोग तथा चुनौती, विवाद र यसको परिणाम, विवाद समाधानमा पद्धति, मेलमिलाप पद्धति, यसका फाइदा, नेपालमा मेलमिलाप पद्धतिको विकास, मेलमिलाप हुन सक्ने र नसक्ने मुद्दाहरू, नेपालमा प्रचलित मेलमिलापका पद्धतिहरू, उपलब्धि, भावी कार्यदिशा, समस्या, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले मेलमिलापबाट आत्मीय भाव बढाउने र काममा सहजता ल्याउने बताउनुभयो। न्यायिक सम्पादन गर्ने क्रममा नागरिकलाई स्पष्टरूपमा बुझाउनुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्