छाउगोठ भत्काउँदा सुत्केरीको बिजोग



दयाराम पण्डित, बाजुरा।

गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले धमाधम छाउगोठ भत्काउन थालेपछि सुत्केरी तथा महिनावारी भएकी महिलाले थप सास्ती खेप्नुपरेको छ। छाउघर भत्काएपछि कतिपय महिला दैलोमा सुत्न बाध्य छन् भने कतिपय महिला डोको, त्रिपालमा सुत्न बाध्य छन्।

यति बेला सुदूरका पहाडी जिल्लामा जनप्रतिनिधि तथा प्रहरीको छाउगोठ भत्काउने अभियान निकै चलेको छ भने छाउगोठ तथा छाउपडी घर भत्काउँदा महिलालाई सास्ती पनि उत्तिकै बेहोर्नुपरेको गुनासा पनि आउन थालेका छन्।

बूढीनन्दा नगरपालिका–१० कि हिउजला बोहोरा सुत्केरी भएको १८ दिन भयो। उनी सुत्केरी भएको समयदेखि बाजुरामा लगातार हिमपात भइरहेको छ। हिमपातसँगै चिसो बढेपछि नवजात छोरी र उनलाई सकस भएको छ।

हिउजला भन्छिन्– ‘दैनिक नुहाउनुपर्छ चिसो पानी अर्को सुत्केरी भएपछि अलगै राख्ने प्रचलन छ।’ अलगै बस्दा चिसोले बच्चा र आफूलाई सञ्चो नभएको बताइन्।

त्यस्तै ब्रमतोला हिमाली गाउँपालिका–५ धिम गाउँकी रजकला विकले बच्चा पाएको २१ दिन भयो। उनी र उनको नवजात छोरा १ महिनासम्म गोरुगोठमा बस्ने गरेका छन्।

हिमपातले असाध्यै चिसो भएको र गोरुगोठमा बस्नुपर्दा छोरा र आफू बिरामी भएको दुःख व्यक्त गरिन्। गाउँमा अन्य महिलालाई पनि एक महिनासम्म सुत्केरी भएको समय गोरुगोठमा राख्ने गरेका छन्। चिसोले निकै समस्या भएको रजकलाले बताइन्।

बाजुराको पूर्वोत्तरका चार स्थानीय तह हुम्ला र मुगुका अधिकांश महिलालाई सुत्केरी भएको समयमा १ महिनासम्म गोरुगोठमा राख्ने गरेका छन्।

स्वामीकार्तिक गाउँपालिका निमित्त प्रशासकीय अधिकृत कुबेर शाही भने छाउपडीभन्दा सुत्केरी भएको बेला छुवाछुत मान्ने प्रचलन रहेको बताउनुहुन्छ। एक महिनासम्म चिसो गोरुगोठमा राख्ने गरेको उहाँको भनाइ छ।

एक साता यता बाजुरामा ४ सय २२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायले जानकारी दिनुभयो।

‘स्थानीय जनप्रतिनिधि, पत्रकार र बुद्धिजीवीको रोहबरमा आवश्यक परामर्श गरेर मात्र छाउगोठ भत्काएका छौं, यो गृह मन्त्रालयको आदेश हो।’ –निरीक्षक रोकायले भन्नुभयो। छुवाछुतमा विभेद देखिएकाले मानव अधिकारका दृष्टिकोणले सुरक्षित गर्ने हेतुले अभियान सञ्चालन गरेको उहाँको भनाइ थियो।

त्यसै गरी अछाममा पनि २ हजार ३ सयभन्दा बढी छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। देशभरि छाउगोठको भत्काउनेको चर्चा चलेको छ।

‘हाम्रोतिर त्योभन्दा पनि सुत्केरीलाई गोरुगोठ राख्ने नियम कडा रहेको छ।’ –हिमाली गाँउपालिकाको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्