‘समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बन्यो’



बैतडी, (नेस)।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताउनुभएको छ। मंगलबार बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहमा बोल्दै उहाँले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्यसस्ंथामा कर्मचारी अभाव भएको बताउनुभएको हो।

‘स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानकर्षण भएको छ’, उहाँले भन्नुभयो– ‘समायोजन प्रक्रिया चाँडै टुंगिने भएपछि स्वास्थ्यका कर्मचारी अभाव रहनेछैन, त्यसका लागि सरकार लागिपरेको छ।’

मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको बताउनुभयो। ‘सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ’, उहाँले भन्नुभयो– ‘नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भीर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्यसेवा घरदैलोमै पुर्याउँछौं।’

स्वास्थ्य क्षेत्रमा थुपै्र समस्याका चाङ रहेको भए पनि आफ्नो कार्यकालमा सबै समाधान हुने उहाँको दाबी छ। उहाँले भन्नुभयो– ‘स्वास्थ्यमा सुधार गर्नुपर्ने धेरै छ ती क्रमिकरूपमा सुधार हुन्छन्।’

यस्तै उहाँले बैतडीको खोड्पेमा ट्रमा सेन्टर स्थापनाका लागि पहल गर्ने पनि बताउनुभएको छ। खोड्पे बैतडी जिल्लाका साथै दार्चुला, बझाङ र डडेल्धुरा जिल्लाको समेत पायक पर्ने उचित स्थान भएको भन्दै स्थानीय सरोकारवालाले ट्रमा सेन्टर स्थापनाका लागि माग गरेका थिए।

सिद्धेश्वर स्वास्थ्य चौकीमा ट्रमा सेन्टर स्थापनाका लागि आफूले पहल गर्ने बताउँदै उहाँले भन्नुभयो– ‘स्थानीयबासीको माग जायज छ, सरकार माग पूरा गर्नेतर्फ लाग्छ।’

प्रतिक्रिया दिनुहोस्