होटलको घडेरी खन्दा प्रसारण लाइनको टावर ढल्ने खतरा



नेपाल समाचारपत्र, काठमाडौं । 

होटल निर्माणका लागि जथाभावी घडेरी खन्दा मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइनको २०५ नम्बर टावर परी ढल्ने अवस्थामा पुगेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ को कुरिनटारस्थित मनकामना केबलकार जाने गेटको नजिकै रहेको जग्गा जग्गाधनी पर्शुराम घिमिरेले खन्दा टावर नै ढल्ने अवस्थामा पुगेको हो।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा घिमिरेले होटल खोल्न भिरालो जग्गा खन्दा पहिरो गई त्यसभन्दा माथि रहेको टावरको जगमा असर परी टावर नै ढल्ने अवस्था अवस्थामा छ।

मस्र्याङदी नदी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाको लगभग एक सय मेगावाट विद्युत् मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौं आइरहेको छ।

टावर ढलेमा काठमाडौ उपत्यकामा एकातर्फ मागअनुसार विद्युत् आपूर्ति गर्न नसकी बाध्यकारी लोडसेडिङ गर्नु अवस्था आउने छ भने अर्कोतर्फ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टावरको निरीक्षण गरी टावर ढल्ने जोखिम बढेर गएकाले सुरक्षात्मक उपाय नअपनाइ खन्ने कार्य बन्द गर्न आग्रह गर्नुभएको छ।

‘भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ पहिरो जान शुरु भई टावर नै ढल्न सक्ने अवस्था देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले जग्गाधनी घिमिरेलाई टेलिफोनमा भन्नुभयो–‘ जथाभावी खनिएकाले प्रोटेक्सनवाल लगाउँदासमेत पहिरो रोकिने अवस्था देखिंँदैन, टावर ढलेर यसबाट उत्पन्न हुने हानी नोक्सानीको जिम्मेवारी तपाईंले नै लिनुपर्ने छ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नु पर्नेछ।

’जवाफमा घिमिरेले यस्तो अवस्था आउला भनेर नसोचेको बताउनुभयो। प्राधिकरणले गत वर्षको पुसमा घिमिरेलाई पत्राचार गर्दे तलतिर रहेको जग्गा खन्दा टावर ढल्ने सम्भावना रहेकाले टावरलाई असर पर्ने कार्य रोक्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको थियो।

तर, खन्ने कार्य नरोकिएको र सुरक्षात्मक उपाय पनि नअपनाइकाले टावर झनै जोखिममा परेको हो। प्राधिकरणले मंगलबार पुनः पत्र पठाउँदै गत वर्ष गरिएको पत्राचार विपरीत खन्ने कार्य जारी राख्दा र सुरक्षात्मक कदम नचाल्दा टावर ढल्ने जोखिम बढेकाले तत्काल खन्ने कार्य रोकी सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्