शेयर बजारमा झिनो सुधार



काठमाडौं, (नेस)। 

साताको तेस्रो दिन मंगलबार शेयर बजारमा झिनो अंकको सुधार भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलब ३६ अंकले बढ्दै परिसूचक १३२० दशमलब ४७ बिन्दुमा पुगेर रोकिएको छ।

कुल १ सय ८३ कम्पनीको ४४ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।

यस दिन बैंकिङ, व्यापार, होटल, निर्जीवन बीमा, उत्पादन तथा निर्माण र जीवन बीमा समूहबाहेक अन्य सबै समूहको कारोबारमा गिरावट आएको छ।

निर्जीवन बीमा समूहतर्फ सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण देखिएको छ। जसको १ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ। कारोबार रकमका आधारमा हिमालयन बैंकको प्रोमोटर शेयर सबैभन्दा बढी खरिद बिक्री भएको छ।

यस बैंकले २४ करोड ४६ लाख रुपियाँभन्दा बढीको शेयर खरिद बिक्री गरेको छ। यस्तै हिमालयन डिस्ट्रिलरीले १० करोड ५२ लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री गर्दै धेरै कारोबार गर्ने कम्पनीहरूको दोस्रो स्थानमा रहेको छ।

यस दिन गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन्। यस कम्पनीको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशतले बढेको छ। यस्तै एनआईसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ६ प्रतिशतभन्दा बढीले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्