घरेलु उत्पादनको ट्रेडमार्क सुरक्षित गर्न जोड



काठमाडौं, (नेस)।

लघु, घरेलु तथा साना उद्योगका उत्पादनको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मंगलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगका लागि ट्रेडमार्क तथा बौद्धिक सम्पत्ति संरक्षण’ विषयक गोष्ठीका सहभागीले यस्तो बताएका हुन्।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौद्धिक सम्पत्ति भनेको अत्यन्तै महत्वपूर्ण कुरा भएकोमा जोड दिंँदै भन्नुभयो–‘उद्योगको कुरा गर्दा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ।

साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरूकै ट्रेडमार्क सुरक्षित हुँदैन।’ ट्रेडमार्क भनेको उद्योगी व्यवसायीको आफनो सम्पत्ति भएको भन्दै यसको बेलैमा संरक्षण गर्न जरुरी भएको बताउँदै उहाँले भन्नुभयो–‘औद्योगिक सामान उत्पादन हुन्छन्।

तर, तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतनाको अभाव र समयको अभावले हुन सक्छ। तर, यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ।’ कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंक बहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा बौद्धिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा बौद्धिक सम्पत्तिका अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी प्रस्तुति गर्नुभएको थियो।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकमा डब्लुटीओको नियम कानुनअन्तर्गत रही आफना उत्पादन अन्य सदस्य मुलुकमा निर्यात गर्दै आएको उल्लेख गर्दै भन्नुभयो–‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तु अन्य मुलुकमा समेत उत्पादन हुने गर्दछन्।

यसरी उत्पादित वस्तु मुल रुपमा नेपालबाट उत्पादन शुरु भए पनि अन्य मुलुकले यस्ता वस्तुको प्रतिलिपी उतार गरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तु समेतमा नेपालको हक कायम नभइदिँदा भविष्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनले उल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ।’ कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र बौद्धिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुति गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्