निर्माण उपकरण निरन्तर आगजनीप्रति गृहमन्त्रीको ध्यानाकर्षण



काठमाडौं, (नेस)। 

नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ।

महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो।

व्यवसायीसँगको छलफलमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरूका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिनु भएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिनुभयो।

मन्त्री थापाले अज्ञात समूहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने बताउनुभयो। साथै जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिनु भएको थियो।

महासंघ प्रतिनिधिमण्डलले मंगलबार नै विकास समितिका सभापति कल्याणी खड्कालाई समेत निर्माण व्यवसायी र उनीहरूका उपकरणमाथिको सुरक्षा चिन्ताबारे अवगत गराएको छ। जवाफमा खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिनुभयो।

अज्ञात समूहले आइतबार मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाअन्तर्गत आइतबारेमा तीन वटा एस्क्साभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपियाँभन्दा बढीको क्षति भएको महासंघले जनाएको छ।

महासंघका अनुसार किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो। त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि आइतबार अज्ञात समुहले शर्मा एन्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ।

केही समय अघि बेनी नगरपालिका बगुवखोला नजिक निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका तीन वटा स्काभेटरमा आगजनी गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रा.लि.को स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा पनि केही समय अघि आगजनी हुँदा करीब ४ करोड रुपियाँ बराबराको क्षति भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्