नेपालको वित्तीय क्षेत्र दक्षिण एसियामै उत्कृष्ट : अर्थमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको बैंक तथा वित्तीय क्षेत्र दक्षिण एसियामै उत्कृष्ट भएको बताउनुभएको छ। कृषि विकास बैंकको ५३औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

‘अर्थतन्त्र सरल बाटोमा सधैं हुँदैन, कहिले उकालो लाग्छ कहिले ओरालो लाग्छ, हाम्रो भुगोलजस्तै अर्थतन्त्र छ,’ उहाँले भन्नुभयो– ‘त्यसैले अलिकति उकालो लाग्दा स्वाँ–स्वाँ र अलिकति ओरालो लाग्दा लडिन्छ कि भन्नु आवश्यक छैन।’

अर्थमन्त्री डा. खतिवडाले केही दिनअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रकाशन गरेको आर्टिकल फोरको संकेत गर्दै तथ्यांकमा रहेर अर्थतन्त्रको विश्लेषण गर्न पनि आग्रह गर्नुभयो। ‘कहिलेकाहीँ सरकारले गरेको कुरा विश्वास गर्न गाह्रो भयो भने अन्तर्राष्ट्रिय संस्थाहरू जो नेपालको अर्थतन्त्रलाई मोनिटर गर्छन्।

नजिकबाट नियाल्छन् र स्वतन्त्र रूपले आफ्ना विवरण प्रतिवेदन प्रकाशन गर्छन्, त्यो पनि पढ्नुहोस्,’ उहाँको भनाइ थियो। विश्व बैंक, एडीबीको रिपोर्टले पनि नेपालको अर्थतन्त्र उल्लेखनीय रहेको देखाउने उहाँको दाबी छ। उहाँले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजस्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने उहाँको भनाइ छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गर्नुभयो। उहाँले कृषि विकास बैंकले १० लाखभन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पस्ट हुने बताउँदै निजी क्षेत्रका बैंकले पनि यस्तो कर्जा बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय नै भएकाले त्यसमा सहयोग गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने गरी ऋण लगानी गर्न आग्रहसमेत गर्नुभयो। निष्कृय कर्जाको अवस्था पत्याउनै नसक्ने गरी तल रहेको उल्लेख गर्दै उहाँले कर्जा प्रवाह गर्दा ज्ञान सीप भएका युवालाई अवसर दिन आग्रह गर्नुभयो।

वित्तीय क्षेत्रमा आएको प्रतिस्पर्धात्मक सुधारको अवस्थाले यस वर्ष सरकारले पनि तीनवटै सरकारी बैंकबाट उच्च लाभांश लिन पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो।

बैंकहरूले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो। १५ अर्ब पुँजी भएका बैंकले २/३ अर्ब रुपियाँ नाफा कमाउनु स्वभाविक भएको बताउनुभयो।

नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने उहाँको भनाइ छ। उहाँले मूल्यवृद्धि बढेको तर्फ संकेत गर्दै भन्नुभयो–‘कुनैबेला मूल्यवृद्धि २२ प्रतिशत हुँदा आकासियो भनिदैनथ्यो अहिले ६ प्रतिशतको हुँदा पनि आकाशियो भन्ने शब्द राखिन्छ।

नेपालको २० वर्षको औसत मूल्यवृद्धि ८ प्रतिशतभन्दा माथि भएकाले अबको बहस राम्रो गर्नुपर्छ भन्नेमा हुनुपर्छ। विगत भन्दा राम्रो भएको छ, अझै राम्रो गर्ने ठाउँ छ।’

प्रतिक्रिया दिनुहोस्