सापकोटा निर्विरोध घोषणा १२ गते

कांग्रेसले दिएन उम्मेदवारी



काठमाडौं, (नेस)।

प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिनुभएका अग्निप्रसाद सापकोटा निर्विरोध हुनुभएको छ। मनोनयन दर्तामा अन्य दलबाट उम्मेदवारी नपरेसँगै सापकोटा निर्विरोध हुनुभएको हो। मंगलबार निर्धारित समयमा सापकोटाको मात्र उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध सभामुख हुने निश्चित भएको छ।

तर सभामुखको निर्वाचन कार्यतालिकाअनुसार सभामुख चयनको औपचारिक घोषणा भने माघ १२ गते हुनेभएको छ। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निर्धारित कार्यक्रमअनुसार माघ १२ गते बस्ने संसद्को बैठकबाट सभामुखको घोषणा हुने बताउनुभयो।

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो। सापकोटाले संसद् भवन बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराउनुभएको थियो।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव तथा पार्टीका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको हो।

सभामुखका उम्मेदवार सापकोटाले सार्वभौम संस्थाको ओझ बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो। उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘संसद्को गरिमा र मूल्य–मान्यता उच्च बनाइराख्ने काममा लाग्नेछु।’

आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास पात्र मानिनुहुन्छ।

कांग्रेसले दिएन उम्मेदवारी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएन।मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्नो पार्टीसँग पर्याप्त मत नभएकाले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालका अनुसार यथेष्ठ मत रहेको नेकपाले उम्मेदवार दिइसकेको र सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको हो।

कांग्रेसले उपसभामुखमा आफ्नो दाबी कायम राखेको छ। सभामुख र उपसभामुख पद रिक्त भएपछि सोमबार जेष्ठ सदस्य महन्त ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकले सभामुखको निर्वाचन आइतबार गर्ने निर्णय गरेको थियो।

संविधानमा सभामुख र उपसभामुखमध्ये एक जना महिला र यी पदमा फरकफरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ।उपसभामुखका लागि कांग्रेसले नेकपासँग लबिङ गरे पनि नेकपा राजपालाई नै दिने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्