रक्सीको नशामा सवारी चलाउँदा ७ जनाको मृत्यु



सीताराम अधिकारी,धादिङ।

धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फर्किंदै गरेको ग१ख ८०१२ नम्बरको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो।

दुर्घटनापछि ३ को घटनास्थलमा नै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।

मृत्यु हुनेहरूमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका तिलकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, विदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ र पूर्णमान श्रेष्ठ रहेका छन्।

सबै मानिस हल्ला गरेर कराइरहेको बेला अत्यधिक गतिमा कुदिरहेको उक्त गाडी पिच सडकमा पल्टेको सोही गाडीमा सवार घाइते कमल गुरुङले बताउनुभयो।

मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँबासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए। रक्सीको सुरमा गाडी चलाएर दुर्घटनामा परेको घाइतेहरूको भनाइ छ।

घाइतेहरूलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी र सामाजिक स्वयंसेवकहरूले उद्धार गरेका थिए। घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

गम्भीर १० जना घाइतेलाई हेलिकोप्टर र ६ जनालाई एम्बुलेन्सबाट थप उपचारार्थ ट्रमा अस्पताल काठमाडौं पठाइएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो।

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्थानीयबासीले लापरबाहीपूर्वक सवारी चलाउनेमाथि कडा कारबाही हुनुपर्ने माग राखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्