कुवेतको अस्पतालबाट उजेलीको बिलौना छिट्टै घर फर्काइदिनुस्



भूपराज बस्याल, काठमाडौं। 

खुट्टा भच्चिएर दुई महिनादेखि कुवेतको फर्वानिया अस्पतालमा उपाचार गराउनुभएकी उजेली तामाङले आफूलाई घर फर्काइदिन आग्रह गर्नुभएको छ।

लम्जुङ पुरानाकोट–७ घर भई कुवेतमा करिब ११ वर्षदेखि काम गर्दै आउनुभएकी ४५ वर्षीया उजेली हिँड्दा हिँडदै लडेपछि अरूको सहयोगमा सडकबाटै अस्पताल पुग्नुभएको थियो। हाल फर्वानिया अस्पतालको महिला वार्डमा उपचाररत हुनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘दशा लागेपछि अनेक हुन्छ, हिँड्दा हिँडदै लडें, अरूको सहयोगमा सडकबाटै यहाँ आएँ। अब त बैसाखी टेकेरै घर जन सक्छु। मलाई जसरी पनि घर जानू छ मलाई सहयोग गर्नुस्, छिट्टै घर फर्काइदिनुस्।’

घरेलु महिलाकामदारका रूपमा काम गर्दा साहुको हप्की दप्की र विभिन्न यातना सहन नसकेपछि बिगत पाँच वर्षदेखि उजेली अवैधानिकरूपमा भागेरै काम गर्न थाल्नुभएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो।

नेपाल समाचारपत्रसँग बिलौना गर्दै उजेली थप्नुहुन्छ– ‘अवैधानिक भए पनि नराम्रो काममा लागिनँ। केही नयाँ कुवेतीहरूको घरहरूमा काम गरेपछि हाल केही समयदेखि कुवेतको स्कुलमा काम गर्ने गर्थें। २० नोभेम्बर, २०१९ का दिन काम सकेर घर जाँदै थिएँ, बाटोमा लडें।

अनि भारत दार्जिलिङकी एक जना बहिनीले यो अस्पतालमा पुर्याउनुभएको रहेछ। म अझै पनि उहाँलाई चिन्दिनँ। खुट्टामा स्टिलको रड नै राख्नुपर्ने गरी भाँचिएछ। अप्रेसन सफल भयो। अब अस्पतालले बैसाखीको भरमा जान सके जा भनेको छ, त्यसैले घर पठाउने प्रक्रियामा सहयोग गरिदिनुहोला।’

आफूलाई कोही नेपाली पनि भेट्न वा सहयोगका लागि नआएको बताउने उजेलीलाई एनआरएनए एनसीसी कुवेतका युवा संयोजक नवराज पराजुलीले पहिलो पटक भेटेर दूतावासलाई खबर गरेपछि घर जान पाइने आशा पलाएको बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘घरमा छोराछोरीले सधैं चिन्ता लिन्छन्, यता मलाई पनि चिन्ता छ, अब बैसाखीमै फर्किन पाए नेपाल गएर बाँकी उपचार छोराछोरीको हेरविचारमा गर्ने थिएँ।’

उजेली तामाङबारे जानकारी आएपछि उहाँलाई घर फर्काउने प्रक्रियामा लागेको बताउँदै नेपाली राजदूताबास कुवेतका तृतीय सचिव मनोजकुमार सिंहले भन्नुभयो– ‘उहाँको फिङरिङ पनि भइसकेको छ।

उहाँ जान सक्ने अवस्थामा भएपछि र डाक्टरले पनि त्यहीअनुसारको सिफारिस गरेमा हामी डिपोर्टेसन (देश निकाला) प्रक्रियामार्फत उहाँलाई छिट्टै पठाउनेछौं।’

 

प्रतिक्रिया दिनुहोस्