बाँकी विषय संवादबाटै : ओली,द्विपक्षीय सम्बन्धमा प्रगति : मोदी



नेपाल समाचारपत्र, काठमाडौं। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुवै मुलुकबीच थाती रहेका विषय संवादमार्फत टुंगो लगाउने समय आएको बताउनुभएको छ।

भारतीय सहयोगमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच चौकी (आईपीसी)को भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्नुभएका ओली–मोदीबीच मंगलबार द्विपक्षीय सम्बन्धका कतिपय विषयमा प्रत्यक्ष र केही विषयमा सांकेतिक वार्ता भयो।

कालापानी, लिपुलेकलगायतका सीमाक्षेत्रको विवादका विषयतर्फ संकेत गर्दै ओलीले भारतीय समकक्षी मोदीसँगको भिडियो वार्तामा त्यस विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। मोदीले भने निकट छिमेकी मुलुकबीच आपसी सहकार्यलाई बढाउनुपर्नेमा जोड दिनुभयो।

भिडियो वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी ओलीको सहयोगका कारण केही वर्षभित्रैमा नेपाल–भारत सम्बन्धमा अभूतपूर्व प्रगति सम्भव भएको बताउँदै भन्नुभयो– ‘हाम्रो सहयोग र विकासमा साझेदारी तीव्ररूपमा बढेको छ।’

अंग्रेजी नयाँ वर्षमा द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले अबको दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णिम बन्ने बताउनुभयो।

आफू नेतृत्वको सरकारले अघि सारेको ‘छिमेक पहिलो नीति’ले द्विपक्षीय सम्पर्क आगामी दिनमा अझ निकट हुने मोदीको भनाइ थियो।पाँच महिनाको अन्तरमा भिडियो कन्फरेन्समार्फत दोस्रोपटक आयोजना उद्घाटन हुनु निकट सम्बन्धको तीव्र विकासको प्रतीक भएको उहाँले बताउनुभयो।

गत भदौ २४मा दुवै प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत भारतको मोतिहारीबाट वीरगन्जको अमलेखगन्जसम्मको ६९ दशमलव २ किमि लामो पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाको उद्घाटन गर्नुभएको थियो।

मंगलबारको संवादमा मोदीले ओलीको स्वास्थ्य अवस्थाबारे चासो लिँदै स्वास्थ्य लाभको कामना गर्नुभयो। प्रतिउत्तरमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै स्वागतका लागि तत्पर रहेको बताउनुभयो।

निम्तो स्विकार्दै मोदीले ओली र नेपाली जनताको प्रेमले आफू यही वर्ष नेपाल आउने इच्छुक रहेको बताउनुभयो। भूकम्पका बेला भारतले नेपाललाई गरेको सहयोग स्मरण गर्नुभएका उहाँले आफ्नो मुलुकको सहयोगमा गोरखा र नुवाकोटमा ४०/५० हजार घर निर्माण भइसकेको बताउँदै पुनर्निर्माणलाई तीव्रता दिएर नयाँ घर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्