धादिङ दुर्घटना अपडेटः रक्सीको नसामा सवारी चलाउँदा पल्टेर ७ को मृत्यु, ३२ घाइते



सीताराम अधिकारी, धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका-४ ढोला मण्डलीको दर्शन गरेर फर्किदै गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो ।
दुर्घटना पछि ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले जानाकारी दिनुभयो । मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका-२ भुलभुलेका तिलकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् ।
दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । अत्याधिक गतिमा गाडी कुदिरहेको थियो । सबै मानिस हल्ला गरेर कराइरहेको बेला पीच सडकमा गाडी पल्टेको गाडीमा सवार घाइते कमल गुरुङले जानाकारी दिनुभयो । मण्डलीमा पाठी काटेर भोग दिने चलन अनुसार भोग चढाएपछि गाउँबासीहरु मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटनामा परेको घाइतेहरुको भनाइ छ ।

घाइतेहरुलाई स्थानीय बासिन्दा र नेपाल प्रहरी र सोसल भोलेन्टरहरुले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर १० जना घाइतेहरुलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँ ट्रमा अस्पताल काठमाण्डौमा पठाइएको छ भने एम्बुलेन्सबाट ६ जना लगिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । धादिङ अस्पतालमा बिरामी घाइतेहरुको उपचार भइरहँदा आफन्त र बजारबासीको भिड लागेको थियो भने लापर्वाहीपूर्ण तरिकाले सवारी चलाउनेलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्