खुटिया, दिपायल, ताक्लाकोट सडकमा चाडै गाडी गुड्छः सांसद आलेमगर



विमल विष्ट, डोटी ।
नेपाल कम्युनिट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधी सभा सदस्य (सांसद) प्रेमबहादुर आलेमगरले कैलालीको खुटिया, विपीनगर, गड्सेरा, दिपायल हुँदै ताक्लाकोट जोड्ने सडकमा चाँडै गाडी गुडाउने योजना अनुसार काम भैरहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्शका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले मंगलवार सिलगढीमा आयोजना गरेको बृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाइ न्यानो लुगा वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । सो कार्यक्रमका प्रमुख अतिथीसमेत रहनु भएका सांसद आलेमगरले खुटिया ताक्लाकोट सडकमा आफनो कार्यकाल भित्रमै गाडी गुडाएरै देखाउने दाबीसमेत गर्नु भयो । उहाँले भन्नुभयो– “सुदूरपश्चिमको महत्व राख्ने उक्त राजमार्गमा गाडी गुडाएरै देखाउने मेरो चाहना छ,बजेट बिनियोजन गराएको छु, चाडै गाडी गुडाउँ छु ।”

त्यस्तै सांसद आलेमगरले जिल्लाको बोगटान–दिपायल, सिलगढी–झिग्राना,बुडर–जोरायल सडकको कालोपत्रेका लागि करोडौ बजेट बिनियोजन भएकाले चाडैनै जिल्लाका सडकहरु कालोपत्रे हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका ठूला सडकहरु कालोपत्रेका लागि मैले बजेट बिनियोजन गराएको छु, आसा छ केही समय भित्रमै यहाँका सडकहरु कालोपत्रे भएर गाडी चल्ने छन् ।” साथै सोही कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमका विसिष्ठ अतिथी तथा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले नगरको बिकासका लागि २५ वर्षे भिजन लिएर अगाडी बढीरहेको र सोही भिजनअनुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी बोली भन्दापनि काममा बिस्वास गर्ने व्यक्ति हौँ, नगरिकलाइ प्रतक्ष फाईदा र सेवा दिने खालका बिकास गर्दै छौँ ।”नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्शका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले जिल्लामा चिसो बढेपछि यहाँका बृद्ध, एकल, अपाङ्गता तथा असहाय अवस्थाका ३०० जना नागरिकलाइ न्यानो लुगा वितरण गर्नु भएको छ । नगरपालिकाका नौ वटै वडामा रहेका बृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाइ न्यानो लुगा वितरण गर्ने योजना अनुसार आफुले उक्त अभियान सञ्चालन गरेको नेकपा प्रदेश कमिटी सदस्य तथा चेम्वर अफ कमर्शका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिसोबाट जोगाउन मैले न्यानो लुगा वितरण अभियान सञ्चालन गरेको छु, थुप्रै आमा बुवालाइ न्यानो लुगा दिन पाए त्यसैमा खुसि छु ।” त्यसैगरी उहाँले नगरपालिका भित्रका सामुदायिक तर्फका सबै बिद्यालयका रु एक लाखको बिद्यार्थी अक्षय कोष समेत स्थापना गर्नु भएको छ । त्यस्तै डोटी चेम्वर अफ कमर्शका सदस्य तथा विष्ट कष्मेटिक तथा फेन्सिका व्यापारी रामबहादुर विष्टले न्यानो लुगा लिन आएका नगरका ३०० जना नागरिक लाइ कोल्गेट तथा ब्रस वितरण गर्नु भएको छ ।

चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि आफुहरुलाइ निकै रहत मिलेको दिपायल सिलगढी नगरपालिका वडा नं ५ ठाटा गाउँकी ५० वर्षीया निमर्ला भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा उड्ने लुगा थिएन, दानी मित्रबाट न्यानो कम्बल पाए, खुसि भएकी छु ।” विगत ७ वर्ष यता देखि चिसो समयमा उहाँले यहाँका जेष्ठ नागरिकलाइ न्यानो लुगा वितरण गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्