१२ वर्षपछि परिवारमा खुशी



यमलाल भुसाल, बुटवल ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमर बहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजगारीका लागि भारत पुगे ।

२०६४ सालमा भारतको लुधियाना गएका सुनारसंग रहेका उनका छोरा सन्तोष कुमार सुनार त्यहींबाट हराएका थिए । छोरा हराएपछि सुनार परिवारमा चिन्ता थपियो, एकातर्फ उनीहरुको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ सन्तान हराएको पीडा थियो । सन्तान भेटिने आशामा सुनार दम्पत्ती भारतमै बसिरहे । ७ वर्षिय बालकको खोजतलास गर्दा कतै पत्तो लागेन । सन्तान हराएको पीडामा रहेको अभिभावकको अनुहारमा अहिले भने मुस्कान देखिएको छ ।

भारतस्थित नेपाली दुतावासको समन्वय तथा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्च नेपालको सक्रियतामा अहिले १९ वर्ष पुगिसकेका सन्तोष अहिले अभिभावकसंगै आउन सफल भएका छन् । उनलाई २०७५ साउन ५ गते उद्दार गरियो । उनलाई अभिभावकसम्म आउन भने त्यत्ति सजिलो थिएन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सन् २०१४ जेनवरी २२ तारिख लखनउमा ११ वर्ष ४ महिना भएको सन्तोष नाम बताउने, घर नेपाल दुर्गानगर बाबु रनबहादुर आमा कमला मिस्त्रीको काम गर्ने सम्म बताएको बालक वेवारिसे रुपमा फेला पारी भारतस्थित विभिन्न बालगृह हुँदै राजकिय बालगृह देवरियामा बसेका सन्तोष, विजय तामागं, राजेश कुमार, सुमित कुमार गरी ४ जनालाई पारिवारिक पुर्नमिलनको लागि भारतस्थित नेपाली दुतावासको सिफारिससहित मित्र मञ्चले जिल्ला प्रहरी कार्यालय रुपन्देही, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रमा ल्याएको थियो ।

बालकहरुको अभिभावक पत्ता नलागेसम्मको लागि अस्थायी संरक्षणको लागि ४ जना बालकलाई प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा पठाएको थियो । ४ जनामध्ये ३ जनाको अभिभावक पत्ता लागेपनि सन्तोषको ठेगाना र अभिभावक पत्ता लाग्न सकेन । त्यसपछि उनलाई बालगृहको संरक्षणमा पशुपति मा.वि. कोटिहवामा भर्ना गराइयो र अभिभावक र ठेगाना खोजी कार्य पनि जारी रहेको थियो । त्यसपछि सन्तोषलाई सोधपुछ गर्ने क्रममा उसले घर दुर्गानगर, कुसुम, झोलुंगेपुलसम्म संरक्षण अधिकारीलाई बताएपछि त्यस क्षेत्रका स्थानीयसंग सम्पर्क गर्दा बैजापुर हेल्थ पोष्टका कर्मचारी कुविजा कोइरालाले सन्तोष त्यही क्षेत्रको हुन सक्ने अनुमान गरिन् ।

बालकको ठेगाना खोज्ने प्रयास जारी नै रह्यो । त्यसपछि भैरहवा–बुटवल सडकखण्डमा काम गर्ने एक मजदूरलाई सोध्दा आफ्नो गाउँको बालक भारतमा हराएको बताएका थिए । त्यस्तै बैजापुर गाउँका अगुवा सन्तोष खड्कासंग बुझ्दा हराएको बालकका अभिभावक भारतमै रहेको जानकारी आएपछि २०७६ पुस ६ गते अमर बहादुर सुनार र लक्ष्मी सुनार बालगृहमा आइ आफ्नो छोरा हो भन्ने पहिचान गरेको प्रहरीको भनाइ छ । पारिवारिक पुर्नमिलनको लागि सन्तोषको जन्मदर्ता, नाता प्रमाणित स्थानीय तहको सिफारिस लगायतका कागजात प्राप्त भएपछि संरक्षक कृष्ण प्रसाद ज्ञवाली थप जानकारी लिन सन्तोषको घर पुगेको प्रहरीले जनाएको छ ।

सन्तोषका बुवा अमर विगत सम्झिदै भन्छन, सडकको सुविधा थिएन, डुंगा तरेर जानुपथ्र्यो, आर्थिक अवस्था कमजोर थियो, त्यस कारण भारतमा गएर पैसा कमाउँला भन्ने सोच थियो, तर आफुसंगै लगेको छोरा नै हराएपछि झन समस्या थपियो । छोरा १२ वर्षपछि भेटे पनि अब भने परिवारमा खुशी आएको छ, मित्र मञ्च नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्याल र सम्पूर्ण परिवारको सक्रियतालाई विर्सन सक्दिन् ।

सन्तोषका आमा लक्ष्मी सुनार भन्छिन, हराएको छोरा भेटाउने आशा नै मारिसकेका थियौं, तर भगवानले १२ वर्षपछि पनि हाम्रा पीडा सुनेर छोरालाई हामीसंगै फर्काए, यो भन्दा अझ बढी खुशीको कुरा के हुन सक्छ । त्यस्तै सन्तोष पनि अभिभावक पाएकोमा निकै नै खुशी छन् । उनी भन्छन, विगतमा के भयो, कसरी हराए त्यो सबै त स्मरण गर्न सक्दिन, तर मलाई अभिभावकसम्म ल्याउने संस्थालाई सदैव सम्झिनेछु ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा सन्तोष कुमार सुनारलाई उनको अभिभावकको जिम्मा लगाइएको छ । सो क्रममा रुपन्देही प्रमुख प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले हराएका बालकको उद्धारमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनु भयो । सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्याल, संरक्षक पुरुषोत्तम भटृराई, उपसंरक्षक अम्बिका अर्याल, सचिव कविता पन्थी, कोषाध्यक्ष शालिकराम गौतम, सदस्य पार्वती के.सीलगाएतको. उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्