विराटनगर आईसीपीको भव्य उद्घाटन, नयाँ दशक नेपाल–भारतको स्वर्णिम दशक



सरोज यादव, विराटनगर। 

विराटनगर–१८ बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेड कस्टम चेकपोष्टः आईसीपी) सञ्चालनमा आएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् मंगलबार संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गरेसँगै आइसीपी संचालनमा आएको हो ।

उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीले करिब ४ महिना अघि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मोदीसँगै गरेको स्मरण गर्नुभयो ।

उहाँले आज पनि सँगै जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्ने कुरालाई नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धको संज्ञा दिनगुभयो । उद्घाटनको भिडियो कन्फ्रेसमा प्रधानमन्त्री ओलीले नेपाल सन् २०१५ मा महाविनाशकारी भूकम्पका समयमा भत्किएका भौतिक पूर्वाधार निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाइ नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनुभएको छ । सो अवसरमा दिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनको शूरुमा नै ‘तपाईलाई कस्तो छ’ भन्दै नेपाली भाषाबाट सम्बोधन शुरु गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो नयाँ वर्षमा दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जनाउनु भयो । चेकपोष्टको संयुक्त रुपमा उद्घाटन गर्दे प्रधानमन्त्री मोदीले यो नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक रहेको उल्लेख गर्नुभयो ।

नेपाल–भारतको सहयोग अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा ५० हजारमध्ये ४५ हजार घरको निर्माण सम्पन्न भएको र बाँकी घर पनि चाँडै निर्माण हुने र नेपाललाई चाँडै नै हस्तान्तरण गरिने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

नेपाल–भारतको क्रस बोर्डर कनेक्टीभिटी प्रोजेक्ट जस्तो सडक, रेल र ट्रान्समिसनलाइनमा काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देश बीच सीमाको प्रमुख स्थानमा निर्माण भएको इन्टीग्रेट चेकपोष्टले व्यापार र आवागमनमा सजिलो बनाएको उहाँले धारणा राख्नुभयो ।

मोदीले चेक पोस्टको उदघाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले छिमेकी सबैदेशबीच आवागमन सहज र सुचारु बनाउनुका साथै व्यापार शिक्षा सबै क्षेत्रमा सहज सम्पर्क बढाउन इच्छुक रहेको बताउनुभयो ।

उहाँले २०१५ को भूकम्पको स्मरण गर्दै भूकम्पका सहासका साथ नेपालीले सामना गरेको स्मरण गर्नुभयो । उहाँले नेपाल भारत सम्बन्धमा अभूतपूर्वक प्रगति भएको बताउँद भारतीय सहयोगमा भएका विकासका कामहरू तेज गतिमा अघि बढेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रम ओलीबाट नेपाल भ्रमणका लागि भएको निमन्त्रणा दिएकोमा खुशी व्यक्त गर्नुभयो उहाँले यो वर्ष नेपाली जनताको दर्शन गर्ने बताउनुभयो ।

आईसीपी हाताभित्र मुख्य भवनमा साथै पाँचवटा गोदाम, भन्सार कार्यालय, दुईवटा ठूला सेड, कर्मचारी आवासगृह, बैंक तथा वित्तीय संस्थाका लागि भवन, सुरक्षाकर्मीका लागि भवन बनाइएको छ । आईसीपी सञ्चालनमा आएपछि भन्सारसँग सम्बन्धित सबै काम एकै ठाउँबाट हुनेछ ।

ब्यापार सहजीकरणका लागि आईसीपी प्रभावकारी हुने भएकाले भारत सरकारले नेपाल र भारत दुवैतर्फ आईसीपी निर्माण गरेको हो । एकै दिन हस्ताक्षर भएको आईसीपी बीरगञ्जमा भने सञ्चालनमा आइसकेको छ । पारवहन र व्यापार सहजीकरणका लागि आईसीपी निर्माण गर्न सन् २००५ अगस्त ३ का दिन दुई सरकारका बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

विस्तृत परियोजना सन् २००९ अगस्तमा स्वीकृत भई ठेक्का प्रक्रिया अघि बढेपनि जग्गा मुअब्जाको समस्याले नेपालतर्फबाट जग्गा उपलब्ध गराउन ढिलाई भएको थियो ।

भारू २ सय करोडको सो परियोजनाको निर्माण जिम्मा भारतीय कम्पनी दिनेशचन्द्र आर आग्रवाल इन्फ्राकन प्रालि अहमदावादले लिएको थियो । नेपालतर्फको आईसीपी १ सय २९ विघाको छ ।

कन्सल्ट्यान्ट भने भारतीय कम्पनी राइट्स हो । आईसीपी सञ्चालनमा आएपछि भारतसँगको ब्यापारमा सहज हुनुका साथै पारवहनमा पनि सहज हुने भएकाले यस क्षेत्रका उद्योगी व्यवसायीहरूले विशेष महत्वका साथ प्रतीक्षा परिरहेका छन् ।

विराटनगरको आईसीपीसम्म भारतको बथनाहादेखि रेलवे लाइन पनि विस्तार भैसकेको छ । भारत सरकारले नेपाललाई जोगबनी नाकाबाट पनि रेल मार्गबाट माल बस्तु ढुवानी सुविधा दिएको हुँदा आईसीपीको सञ्चालनले १ नम्बर प्रदेशको समृद्धिमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

निजगढ–काठमाडौं फास्ट ट्रयाकको द्रुत गतिमा निर्माण भैरहेको छ । त्यसैगरी विराटनगर भन्सार नाकाबाट उत्तरी सीमा किमाथान्का नाका र ओलाङचुङ गोला नाका जोड्ने बाटोको पनि द्रुत गतिमा निर्माण भैरहेको छ । दुवै नाकाको ट्रयाक खोल्न थोरै मात्र बाँकी छ ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायका अनुसार किमाथान्काबाट तिब्बतको सिगात्से बजार ४५ किलोमिटरको दुरीमा पर्दछ जो तिब्बतको पुरानो ब्यापारिक बजार हो । त्यसैगरी त्यसको आधा दुरीमा तिब्बतको रियू बजार पर्दछ ।

विराटनगरबाट कलकत्ता बन्दरगाहसम्मकको दुरी ५ सय ५२ किलोमिटर पर्दछ भने वीरगञ्ज र कलकत्ताको दुरी ७ सय ७७ किलोमिटर छ । निजगढ काठमाडौं फास्ट ट्रायक बन्नेवित्तिकै विराटनगरले बीरगञ्ज र भैरहवाका उद्योगहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

विराटनगर नाका भएर चीन र भारतका बीच ब्यापार विस्तार गर्न पनि सहज हुने हुँदा १ नम्बर प्रदेशको विराटनगर नाकालाई विशेष महत्वका साथ हेरिएको हो ।

प्रतिक्रिया दिनुहोस्