अर्ग्यानिक दर्शक कहिले ?



काठमाडौंमा अहिले धमाधम ‘ए’ डिभिजन लिग फुटबल प्रतिस्पर्धा चलिराख्या छ। सोमबारसम्म यो सिजनको ४९औं प्रतिस्पर्धा सकियो। तर, दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा मैदान भने हरेक दिन बेहुली अन्माएको घरझैं देखिन्छ।

मैदानमा खेलाडी, रेफ्री, लाइन्सम्यान र कोच हुन्छन्।तर, दर्शकदीर्घा भने सुनसान, बेहुली अन्माएपछि बाँकी रहेका पाहुनाझैं फाट्टफुट्ट मात्रै देखिन्छन्।

एक दिन होइन, दुई दिन होइन हरेक दिन जतिपटक धरहराले दूरबिन सोझ्याउँछ उतिपटक सुनसान। लाग्छ कि, प्रतिस्पर्धा होइन, लिग म्याचका लागि ट्रायल म्याच चलिराख्या छ।

विदेशी लिगको रस र स्वादमा रघाउन बानी पर्या नेपाली दर्शकलाई स्वदेशी लिग टर्रो, खल्लो, बान्की नपर्या लागेसी कसरी भरियोस् रंगशाला ?

अग्र्यानिक भन्या अग्र्यानिकै हो। हैन भने विचार गरौं त, उहिले मोजा र झुम्रा बाँधेर झत्ते गोल खेल्दा पनि टोल–टोलमा निकै छेलोखेलो दर्शक हुन्थे, हुटिङ कस्तो व्यापक र रोचक हुन्थ्यो।

त्यस्तो अग्र्यानिक दिन फेरि फर्किएला र खै ? जति बल गरे पनि अग्र्यानिक दर्शक अब मुलुकले पाउने छैन। भनेसी, अब दर्शक बढाउन रोनाल्डो, मेसी र नेयमारहरू नै झिकाउनुपर्ने हो ?

प्रतिक्रिया दिनुहोस्