आर्मीलाई ३ अंकको अग्रता



नेपाल समाचारपत्र, काठमाडौं।
जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल समाप्त हुँदा त्रिभुवन आर्मी क्लबले शीर्ष स्थान हासिल गरेको छ।सोमबार सातौं चरणको अन्तिम खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३–० ले हराएको हो।
यो जितसँगै आर्मी ७ खेलमा १६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको हो। साथै पाँचौं जित हासिल गरेको विभागीय टोलीले दोस्रो स्थानको मछिन्द्रसँग ३ अंकले दूरी बढाएको छ।
राष्ट्रिय खेलाडीले भरिएको मछिन्द्रले सातौं चरणको खेलमा हिमालयन शेर्पासँग २–० को अप्रत्यासित हारको सामना गरेको थियो। त्यस्तै डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दीले मछिन्द्रसरह १३ अंक जोडे पनि गोलभिन्नतामा तेस्रो स्थानमा रहनुपरेको छ।
दशरथ रंगशालामा भएको खेलमा आर्मीले पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो। खेलको ५८औं मिनेटमा कप्तान भरत खवासले डिबक्सको दायाँबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
सेसेहाङ आङदेम्बेको पासमा भरतले गरेको सशक्त प्रहारलाई च्यासलका गोलकिपर एलन न्यौपानेले अगाडि बढेर पन्च गर्न खोजेका थिए। तर, उनी असफल भएपछि बलले जामी चुमेको थियो। १–० को अग्रता लिएपछि आर्मीले च्यासलमाथि थप दबाब राखेको थियो।
यस्तै ७३औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीको अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरेका थिए। विकास खवासले हानेको प्रहारलाई च्यासलका गोलकिपरले बचाए पनि बल रिबाउन्ड हुन पुगेको थियो। ठीक पोजिसनमा रहेका नवयुगले बल भेटाएर वान टचमै गोल गरेका थिए।
यो नवयुगको जारी लिगमा व्यक्तिगत चौथो गोल थियो।यसपछि आर्मीले दुईवटा पेनाल्टी प्राप्त गरेको थियो, जसमा एउटा मात्रै गोल गर्न सकेको थियो। छिरिङ गुरुङले नवयुगलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीलाई सन्तोष तामाङले गोल गरेका थिए।
उनको गोलसँगै आर्मी ८५औं मिनेटमा ३–० को अग्रतामा पुगेको थियो। अन्तिममा ५ मिनेट थपिएकोमा छिरिङले पेनाल्टी बक्समा दिनेश हेम्जनलाई लडाए। यसबापत पाएको पेनाल्टीलाई नवयुगले बललाई पोलमा ठोक्काएपछि व्यक्तिगत पाँचौं गोल गर्ने अवसर गुमाएका थिए।
यसअघिको खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेलेका थिए। योसँगै १–१ अंक जोड्दै संकटाले सातौं र ब्रिगेडले नवौं स्थान हासिल गर्यो।
संकटाको ९ अंक छ भने ब्रिगेडको ८ अंक छ। च्यासल भने हारसँगै ६ अंकसहित १२औं स्थानमा रहेको छ। च्यासलले अहिलेसम्म ७ खेलमा १ खेल मात्रै जितेको छ।
गोलकर्ता
आशीष लामा (एपीएफ), सन्तोष साहुखल (च्यासल)

सुमन लामा (पुलिस), नवयुग श्रेष्ठ (आर्मी)

सोमिडे एडेलाजा (मछिन्द्र), विमल राना (मनाङ), उत्तम राई (प्र्रmेन्ड्स), दर्शन गुरुङ (एनआरटी)

डाडी जुनियर (जावलाखेल), सरोज तामाङ र जुनियर ओन्ग्वेन (एनआरटी), अमित तामाङ, लक्ष्मण रुचाल र अजायी मार्टिन्स (संकटा), अञ्जन विष्ट (मनाङ), वाग्नर डी कार्मो (फ्रेन्ड्स), लाल राम्मावरा र अनन्त तामाङ (थ्रीस्टार), रोशन रानामगर (ब्रिगेड), सन्तोष तामाङ र भरत खवास (आर्मी)

प्रतिक्रिया दिनुहोस्