ओली र मोदीबाट आज आईसीपीको संयुक्त उद्घाटन



सरोज यादव, विराटनगर।

निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) मंगलबारबाट सञ्चालनमा आउने भएको छ। भारतीय पक्षले मोरङको बुधनगरमा निर्माण गरेको आईसीपी नेपाललाई हस्तान्तर गरेपछि मंगलबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जनाएको छ।

संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भएको जानकारी दिनुभयो। उद्घाटनलगत्तै आईसीपी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो।

निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले तोकिएको अवधिभन्दा ७ महिनापछि आईसीपी निर्माण सम्पन्न गरेको हो। दुई वर्ष पहिले आएको बाढीका कारण निर्माणमा अवरोध भएपछि ७ महिना ढिलो गरी सम्पन्न भएको परियोजना व्यवस्थापक अवधेशकुमार साहले जानकारी दिनुभयो।

पूर्वका उद्योग व्यवसायका क्षेत्रमा महत्वपूर्ण परियोजना मानिएको आईसीपी निर्माणले उद्योगी व्यवसायी उत्साहित छन्। तोकिएकै समयभित्र काम सक्न निर्माण कम्पनी रसरकारलाई खबरदारी गर्दै आएका उद्योगी व्यवसायी निर्माण सम्पन्न भएपछि उत्साहित बनेका हुन्।

तर, सञ्चालनमा भइरहेको ढिलासुस्तीले उनीहरू असन्तुष्ट बनेका छन्। मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले आईसीपी तत्काल सञ्चालनमा आए हाल उद्योगी व्यवसायीले व्यहोर्दै आएको नोक्सानी कम हुने बताउनुभयो।

उहाँले आईसीपी सञ्चालनले आयात निर्यातमा सहजता र लागत न्यूनीकरणसमेत हुने बताउनुभयो। उहाँले हाल विराटनगर भन्सार नाकाबाट वस्तु आयात गर्दा लाग्ने समय र भीडभाड अन्त्य हुने बताउनुभयो।

एक सय ६९ बिगा क्षेत्रफलमा निर्माण सम्पन्न भएको आईसीपीभित्र पूर्वाधारमा मुख्य प्रशासनिक भवन, भन्सार कार्यालय, सुरक्षा गृह, पशु तथा खाद्य क्वारेन्टाइन, गोदाम घर, पूर्व–पश्चिम दुवैतिर चेकजाँच कक्ष, शौचालय ब्लक, चारै कुनामा भ्यु टावर, इलेक्ट्रिकल सबस्टेसन, डिस्पेन्सरी, ओभरहेड ट्यांक, डोरभेट्री, स्वास्थ्य चौकीलगायतका संरचना बनेका छन्।

त्यसैगरी सेवामूलक संरचनाअन्तर्गत आईसीपीभित्र १४० वटा सीसी क्यामेरा जडान, पब्लिक एड्रेस सिस्टम, फायर आलर्म, फायर फिस्टिङ वाटर सप्लाईलगायतका सुविधा रहेको परियोजना व्यवस्थापक साहले जानकारी दिनुभयो।

त्यस्तै चारैतिर कम्पाउन्ड वाल, २ वटा प्रवेश तथा निस्कने गेट र आईसीपी क्षेत्रभित्र ९ किलोमिटर कालोपत्रे सडकसमेत निर्माण सम्पन्न भएको छ भने सजावट एवम् रङरोगनको काम पनि सकिएको परियोजना व्यवस्थापक साहले बताउनुभयो।

सरकारले आईसीपीका लागि १२९ र लिंक रोडका लागि ४० बिगा जग्गा अधिग्रहणपश्चात ३० करोड १३ लाख ५४ हजार रुपियाँ मुआब्जा वितरण गरी आईसीपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको थियो।

एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा नआए पनि हाल जोगबनी नाका भई वस्तु तथा सामान ओसारपसार गर्ने सवारी साधन नेपालमा सामान पुर्याएर खाली भएपछि आईसीपी क्षेत्रबाटै पुनः भारत फर्किन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्