विदेशबाट फर्किएका ८ हजार युवाको अगुवाईमा चिस्यान केन्द्र



भूपराज बस्याल, कावासोती।

वैदेशिक रोजगारबाट फर्किएका करिब ८ हजार युवाको अगुवाईमा नवलपरासीमा तीन हजार म्याक्ट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा आउने भएको छ।

कावासोती–१४ अर्घेलीमा सञ्चालन हुन लागेको चिस्यान केन्द्रको शिलान्यास भएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाहरूको संस्था रिटर्नी माइग्रेट नेपालअन्तर्गत रिटर्नी पशुपालन तथा कृषि समूह नबलपुरको अगुवाईमा चिस्यान केन्द्र सञ्चालनमा आउन लागेको हो।

दुई वर्षभित्र निर्माण सक्ने गरी काम शुरु गरिएको परियोजना १८ कट्ठा क्षेत्रफलमा २१ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको छ।

संघीय सरकारको ५० प्रतिशत र गण्डकी प्रदेश सरकारको २० प्रतिशत अनुदानमा निर्माण हुन लागेको केन्द्रमा ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्केका युवाको लगानी रहने रिटर्नी पशुपालन तथा कृषि समूह नबलपुरका अध्यक्ष नेत्र थनेतले बताउनुभयो।

जर्मनी प्रविधिमा सञ्चालन हुन लागेको केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै संघीय सांसद तिलक महतले युवालाई विदेश पलायन हुन नदिनको लागि सरकारले ल्याएको विभिन्न योजना अन्तर यस कार्यक्रम गर्न सफल भएको बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अडियोबाट शुभकामना सन्देश पठाउनुभएको थियो।त्यस्तै रिटर्नी माइग्रेट नेपालका अध्यक्ष उतम अधिकारी, काठमाडौं महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

निर्माण हुन लागेको केन्द्रमा २५ सय मेट्रिक टनमा फलफूल तथा तरकारी र आलु स्टोर गर्न सकिने र ५ सय मेट्रिक टन मासुजन्य वस्तु स्टोर गर्न सकिने विस्तृत योजना अध्ययनको जिम्मा पाएको कम्पनी आइकोन आर्किटेक्स तथा इन्जिनियर प्रालिका सञ्चालक इन्जिनियर गोपाल बहादुर कँुवरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्