शेयर बजारमा ‘करेक्सन’



काठमाडौं, (नेस)।

लगातार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको दोस्रो सोमबार भने ‘ब्रेक’ लागेको छ। लगानीकर्ताहरूको खरिद चाप बढ्नुका साथै बजारमा तरलता हटेपछि बजारमा ‘करेक्सन’ देखिएको हो।

सोमबार नेप्से परिसूचक २६ दशमलब ५४ अंकले घटेर १३१७ दशमलब ११ मा झरेको छ।कुल १८२ कम्पनीको ५८ लाख कित्ता शेयर १ अर्ब ९७ करोड रुपियाँभन्दा बढीमा कारोबार भएको छ। सोमबार नेप्सेमा कारोबार भएका सबै समूहको परिसूचकमा गिरावट आएको छ।

बैंकिङ समूह १५ दशमलब ८८, व्यापार समूह ५४ दशमलब ५९, होटल समूह ६४ दशमलब शून्य ९, विकास बैंक समूह ५२ दशमलब ८७, जलविद्युत् समूह ४२ दशमलब २२, वित्त समूह २२ दशमलब ३३, निर्जीवन बीमा समूह ११६ दशमलब ३१, उत्पादन समूह ७१ दशमलब ९१, अन्य समूह १३ दशलब ५३, लघुवित्त समूह ५७ दशमलब ८८, जीवन बीमा समूह १५४ दशमलब ६५ र सामूहिक लगानी कोष समूह शून्य १८ अंकले घटेको छ।

यस कारोबार रकमका आधारमा सोमबार पनि हिमालयन डिस्टिलरी अगाडि रहेको छ। यस कम्पनीको २० करोड ९२ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको थियो।

त्यस्तै एनसीसी बैंकको १३ करोड ३२ लाख, नेपाल लाइफ इन्स्योन्स कम्पनीको ९ करोड ३० लाख, प्रभु बैंकको ६ करोड ७१ लाख, एनआईसी एसिया बैंकको ५ करोड ९८ लाख, शिवम् सिमेन्टको ५ करोड ८० लाख र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ४४ लाख रुपियाँको कारोबार भएको छ।

समग्र परिसूचक दोहोरो अंकले घटे पनि मल्टीप्रपोज फाइनान्स कम्पनी ९ दशमलब ७७, ग्लाबेल आइएमई बैंकका लगानीकर्ताले ९ दशमलब ७२ प्रतिशतले कमाएका छन्।

तर, पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९ दशमलब ८२, हिमालयन पावर पार्टनर ९ दशमलब ४१, विशाल बजार कम्पनी ९ दशमलब २२, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता ८ दशमलब ६५ प्रतिशतले गुमाएका छन्।सोमबार सेन्सेटिभ परिसूचक पनि ४ दशमलब ८६ अंकले घटेर २८३ दशमलब ५३ मा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्