भारतविरुद्ध जवाफी कारबाही गर्ने हैंसियत छैन : महाथिर



क्वालालम्पुर, (एजेन्सी)। 

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार उनको देशबाट पाम तेल आयात बहिष्कार गरेकोमा भारतविरुद्ध कुनै जवाफी कारबाही नगर्ने प्रष्ट पारेका छन्।

भारतजस्तो विशाल अर्थव्यवस्थाको अगाडि मलेसियाको तुलना नहुने भएकाले जवाफी कारबाही गर्ने कुनै प्रश्न नै नभएको महाथिरले बताए।

मलेसियाली प्रधानमन्त्री महाथिरले भने– ‘हामी जवाफी कारबाही गर्ने विषयमा अत्यन्त सानो हौं। हामीलाई यसबाट उठने तरिका र साधन खोज्नुपर्नेछ।’

भारत खाद्य तेलको जगत्मा सबैभन्दा ठूलो आयातकर्ता हो। भारतले मलेसियाबाट सबैभन्दा धेरै तेल आयात गर्छ। केही महिनाअगाडि मलेसियाका प्रधानमन्त्रीले जम्मु काश्मिरबाट आर्टिकल ३ सय ७० निस्क्रिय गरेको र नागरिकता कानुनमा संशोधन गरेकोमा भारत सरकारको आलोचना गरेका थिए।

यसको जवाफमा भारतले यसै महिनादेखि मलेसियाको पाम तेल आयातमा रोक लगायो। मलेसिया विश्वको दोस्रो ठूलो पाम तेल उत्पादक देश हो र भारत सबैभन्दा ठूलो आयातकर्ता। यस स्थितिमा भारतको बहिष्कारले मलेसियालाई ठूलो धक्का लागेको छ।

प्रतिक्रिया दिनुहोस्